त्रिभुवन विमानस्थलकाे 'गाेल्डेन गेट' बाट आन्तरिक टर्मिनलसम्म यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन

छिनोफानो   मङ्गलबार २३, कार्तिक २०७८ ०८:५८

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका हवाई यात्रुको सुविधालाई ध्यान दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । विमानस्थलको गोल्डेन गेट (प्रवेशद्वार) बाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारी साधनको व्यवस्था गरिएको हो । अहिलेलाई प्राधिकरणका दुई वटा माइक्रोबसले सेवा सुरु गरेकाे छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले त्याे बस सेवाको शुभारम्भ गर्दै आन्तरिक उडानका यात्रुको सहजताका लागि बस सेवा सञ्चालन गरिएको बताउनुभयो । मन्त्री आलेले थप दुई वटा बसको व्यवस्था गर्नसमेत प्राधिकरणलाई निर्देशन दिनुभएको छ । उहाँले गोल्डेन गेट र आन्तरिक टर्मिनल भवन अगाडि यात्रुको सुविधाका लागि संरचना बनाउनसमेत निर्देशन दिनुभएको छ । 

यसअघि आन्तरिक उडानबाट आएका यात्रुलाई ट्याक्सीले अत्यधिक मूल्य लिएको भन्दै गुनासो आएको थियो । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले यात्रुको सहजताका लागि तीन वटा बस गोल्डेन गेटमा र त्यही सङ्ख्यामा बस आन्तरिक टर्मिनलमा राखेर सञ्चालन गरिने बताउनुभयाे । 

खासगरी आन्तरिक उडानमा यात्रुले लामो बाटो ब्यागेज बोकेर कष्टका साथ गाडीसम्म पुग्नुपर्ने र कतिपय यात्रुले बालबच्चाका साथ गह्रुङ्गो झोला बोक्नुपर्ने बाध्यताको अन्त्यका लागि बस सेवा सञ्चालन गरिएको हो । यात्रुले दुःख पाएको र ट्याक्सीसँग बार्गेनिङ गर्दा ठूलो रकम खर्च गर्नुपरेको गुनासो आएपछि यात्रुका लागि बसको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । अबदेखि यात्रुले विमानस्थलको बाहिर ओर्लिएर सिधै सार्वजनिक गाडी वा आफ्नो रोजाइको यातायातमा यात्रा गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु