प्रधानसेनापति शर्मा दिल्लीमा : दुई सेनापतिबीच के भयो कुराकानी ?

छिनोफानो   बुधबार २४, कार्तिक २०७८ ०९:२७

प्रधानसेनापति प्रभुराम शर्मा चारदिने औपचारिक भ्रमणका क्रममा मंगलबार दिल्ली पुगेका छन् । बिहीबार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भारतीय समकक्षी मनोजमुकुन्द नरभणेको निमन्त्रणामा शर्मा नेतृत्वको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डल मंगलबार बिहान दिल्ली पुगेको हो । स्थल सेनाध्यक्ष नरभणेले साउथ ब्लकस्थित कार्यालयमा शर्मालाई स्वागत गरेका छन् ।

दुई देशका सेनापतिबीच आपसी हित र पारस्परिक सम्बन्धमा द्विपक्षीय छलफल भएको नेपाली सेनाले जनाएको छ । भारतीय सेनाले शर्मालाई भारतको सुरक्षा परिप्रेक्ष्यबारे ब्रिफिङ गरेको छ, जसमा अहिलेको अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा परिवेशबारे भारतीय सैनिक दृष्टिकोण समेटिएको छ ।

मंगलबार भारतीय समकक्षी र रक्षा मन्त्रालयका सचिवसँग भेटवार्ता गरेका प्रधानसेनापति शर्माले बिहीबार प्रधानमन्त्री मोदी, सुरक्षा सल्लाहकार अजित डोभाल, रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री डा. एस जयशंकरसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

बुधबार बिहान प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्नबाट सुशोभित गर्ने कार्यक्रम छ । शर्माले बिहीबार मध्याह्न १२ बजे प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यसूची छ । बिहीबारै रक्षामन्त्री राजनाथ सिंहसँग बिहान १०ः३० बजे र विदेशमन्त्री जयशंकरसँग बिहान ११ बजे भेटवार्ता गर्ने कार्यसूची छ । त्यस्तै, पौने १ बजे प्रधानसेनापति शर्माले भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने तय भएको छ ।

भारतीय समकक्षी नरभणेको निमन्त्रणामा शर्मा नेतृत्वको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डल मंगलबार बिहान दिल्ली पुगेको हो । गत असोजमा कार्यभार सम्हालेपछि उनको यो पहिलो भारत भ्रमण हो । प्रधानसेनापति शर्माको प्रतिनिधिमण्डलमा सेनाको युद्धकार्य तथा व्यवस्था महानिर्देशक (डिजिएमओ) उपरथी निर्मलकुमार थापा, सैनिक सहायक चोक ढकाल, दिल्लीस्थित सैनिक सहचारी आरसी खत्रीलगायत सहभागी छन् ।

दुई सेनापतिबीच के भयो कुराकानी ?
नेपाली र भारतीय सेनाद्वारा मंगलबार सार्वजनिक गरिएको जानकारीअनुसार दुई प्रधानसेनापतिबीच रक्षा सहकार्य थप मजबुत बनाउने विषयमा छलफल भएको छ । द्विपक्षीय सैनिक सहकार्यलगायत विषयमा छलफल भएको भारतीय सेनाले जनाएको छ । ‘दुई सेनाबीच रक्षा सहकार्य थप मजबुत बनाउने विषयमा विचार आदानप्रदान भएको छ,’ भारतीय सेनाले भेटवार्तापछि ट्विटरमा उल्लेख गरेको छ ।

भारतीय सेनाले भेटवार्तालाई नेपाली प्रधानसेनापतिले समकक्षीसँग शिष्टाचार भेट गरेको भनेको छ । नेपाली सेनाले भने द्विपक्षीय छलफल भएको उल्लेख गरेको छ । नेपाली सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दुवै प्रधानसेनापतिबीच आपसी हित र पारस्परिक सम्बन्धमा द्विपक्षीय छलफल भएको छ ।

छलफलपछि भारतीय सेनाका तर्फबाट प्रधानसेनापति शर्मालाई ‘भारतको सुरक्षा परिप्रेक्ष्य’बारे प्रस्तुतीकरण गरिएको नेपाली सेनाले विज्ञप्तिमा जनाएको छ । जानकारहरूका अनुसार अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा परिवेशबारे भारतीय सेनाका तर्फबाट उसको दृष्टिकोण प्रस्तुत गर्ने पुरानै चलन हो । यसपटक विशेषगरी भारतीय र चिनियाँ सेनाबीच हिमाली क्षेत्रमा भएको टकराबको परिस्थितिबारे भारतीय सेनाका तर्फबाट प्रधानसेनापति शर्मालाई जानकारी दिइएको छ ।

प्रधानसेनापति शर्माको भ्रमणअघि नेपाली सेना र भारतीय सेनाबीच भारतको पिथौरागढमा गणस्तरीय संयुक्त अभ्यास सम्पन्न भएको थियो । दुई सेनापतिबीच थप सैनिक सहकार्य मजबुत गर्ने विषयमा छलफल भएको छ । प्रधानसेनापति शर्माले नेपाली सेनालाई आवश्यक पर्ने हतियार तथा गोलीगठ्ठाको सहज आपूर्तिलगायत विषयमा बुँदागत रूपमा समकक्षीसँग आग्रह गरेका छन् । उनले भारतीय रक्षासचिव अजय शर्मासँग पनि रक्षा मन्त्रालयमा भेटवार्ता गरेको भारतीय रक्षाप्रवक्ता ए. भारतभूषण बाबुले ट्विटरमा उल्लेख गरेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु