कैलाली युवक हत्या प्रकरण : अनुसन्धानका लागि ६ जना नियन्त्रणमा

छिनोफानो   बुधबार २४, कार्तिक २०७८ १२:५८

धनगढी । कैलालीको टीकापुरमा मंगलबार राति चक्कु प्रहार गरेर युवकको हत्या गरिएको प्रकरणमा प्रहरीले अनुसन्धानका लागि कम्तीमा पनि ६ जनालाई पक्राउ गरेको छ ।

दुई समूह बीचको झडपमा मारिएका लम्की चुहा नगरपालिका-१ का भुपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आशंकामा घटनास्थलमा उपस्थित तीन र अन्य तीन गरेर ६ जनालाई नियन्त्रणमा लिइएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए ।

एसपी अधिकारीले चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावलका छोरा महेशले प्रयोग गर्दै आएको स्कुटर घटनास्थलमा भेटिएपछि अनुसन्धानका लागि रावल, उनकी श्रीमती र एकजना छोरालाई नियन्त्रणमा लिइएको जानकारी दिए । रावलका अर्का छोरा नवीन फरार रहेकाले उनको खोजी भइरहेको उनले बताए ।

प्रहरीकाअनुसार आइतबार नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका मेजर अशोकजंग शाहीसँग होटलका सञ्चालक रावलको वादविवाद भएको थियो ।आक्रोशित स्थानीयले ढुङ्गामुढा गरेर मेजरको निजी गाडीमा तोडफोड गरेका थिए भने उनको टाउकोमा पनि चोट लागेको थियो ।

आक्रोशित पीडितका आफन्तले बुधबार बिहान संगम होटलमा तोडफोड गर्ने प्रयास पनि गरेका थिए । तर सम्झाइबुझाइ गरेपछि उनीहरु फर्किएको प्रहरीले जनाएको छ । यता हत्या भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

पीडित पक्षले बिहानैदेखि राजमार्ग अवरुद्ध पारेपछि सवारीसाधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। राजमार्ग अवरुद्ध भएपछि लम्की चुहामा सवारीसाधनको लामो लाइन लागेको छ। सडकमै सबारी राधन रोकिएपछि सयौं यात्रुहरु अलपत्र परेका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु