ग्रीष्म कालीन आगन्तुक चरा बाहिरिएलगत्तै हिउँदे आगन्तुक चरा नेपाल आइपुगे

छिनोफानो   सोमबार २९, कार्तिक २०७८ ०९:१७

काठमाण्डाै - ग्रीष्म कालीन आगन्तुक चरा बाहिरिएलगत्तै हिउँदे आगन्तुक चरा नेपाल आइपुगेका छन्।

जाडो छल्न १ सय ५० प्रजातिका हिउँदे आगन्तुक चरा विभिन्न देशबाट नेपाल आएका हुन् । चिसो छल्न र खानेकुराको खोजीका लागि हरेक वर्ष नेपालमा हिउँदे आगन्तुक चरा आउने गर्छन् । यसपालि एक/दुई हप्ता ढिलो गरी हिउँदे आगन्तुक चरा नेपाल आएका छन्  ।

चराविद् डाक्टर हेमसागर बरालकाअनुसार नेपाल आएका यी चरा ६ महिनासम्म बस्ने छन् । त्यस पछि उनीहरु बच्चा कोरल्न जुन ठाउँबाट आएको त्यहीँ ठाउँमा जाने उहाँले बताउनुभयो । ग्रीष्म कालीन आगन्तुक चराले भने नेपालमा बच्चा कोरल्ने गरेका छन् ।

अहिले हिउँदमा नेपालमा चीनबाट धेरै चरा आउने गरेका छन् । यस्तै, पूर्वी युरोप, मङ्गोलिया, रुस, साइबेरिया कीर्गिस्तान, कजाकस्तान तथा कोरियाको छेउछाउलगायतका ठाउँबाट पनि चिसो छल्न चरा नेपाल आउने गरेका चराविद् डाक्टर हेमसागर बरालले बताउनुभयो ।

उहाँका अनुसार जाडो छल्न तथा आहारा खोज्न चरा ४ देखि ५ हजार माइल पार गरेर नेपाल आउने गरेका छन् । कपिलवस्तुको जगदीशपुर जलाशय, कैलालीको घोडाघोडी ताल, बर्दियाको बढैया ताल, कास्कीको फेवाताल, चितवनको बीसहजारी तालसहित वन, सिमसार क्षेत्र र खेतबारीमा यी चरा रमाउने गरेका छन् ।

हिउँदे आगन्तुक चराका लागि नेपालमा बासस्थान र खानाको अभाव नहुने चराविद्ले बताएका छन् । यस अघि नेपाल आएका ग्रीष्म कालीन आगन्तुक चरा भने नेपालबाट बाहिरिसकेका छन् । उज्यालो बाट

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु