काठमाडौं । २०६४ सालको प्रतिनिधिसभा निर्वाचनमा तात्कालीन नेकपा (माओवादी) संसदको सबैभन्दा ठूलो शक्ति बनेर संविधानसभा छिरेका थियो । चुनाव नै नलडी युद्ध छोडेर आएर सीधै २०६३ सालमा संसद छिरेको माओवादी भाग लिएको पहिलो चुनावबाटै सबैभन्दा ठूलो दल बन्दा उसलाई सम्हालिनसमेत मुस्किल परेको थियो ।
बाह्रखरीसँगको कुराकानीमा केहीसमय अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसबेला परिणाम राम्रो आए पनि सरकार सञ्चालनमा अरुका कुरा सुन्दा सही बाटोमा अघि बढ्न नसकेको स्वीकार गरेका थिए ।
प्रभाव घट्दै गएको माओवादी संविधानसभाको दोस्रो निर्वाचनसम्म पुग्दा जनाधार कायम राख्नै असफल भएको थियो । २०७० सालको निर्वाचनमा तेस्रो दलमा खुम्चिएको माओवादी केन्द्र त्यसयता एक्लै चुनाव लड्ने आँट गरेको छैन ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससँग चुनावी तालमेल गरेको माओवादी केन्द्र त्यही वर्ष भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग गठबन्धन गर्न पुगेको थियो । स्थानीय तह निर्वाचनमा कांग्रेसी मतदाताले उत्साहपूर्वक भोट नदिएपछि त्यसबेलाका प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा गृह मन्त्रालयसहित सम्मानजनक हैसियतमा हुँदाहुँदै एमालेसहितको गठबन्धनमा सामेल भएर कांग्रेसविरुद्धको प्रचार थालेको थियो ।
२०७५ जेठ ३ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएर नेकपा बन्यो । हाल नेकपा अस्तित्वमा छैन । २०७७ फागुन २३ को सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गरिदिएपछि दुई दल पुरानै हैसियतमा फर्किएका हुन् ।
त्यही आदेशपछि भएको उचारचढावले एमाले प्रतिपक्षमा पुगेको छ भने माओवादी केन्द्र यतिवेला सत्तारुढ गठबन्धन छ । पहिले जस्तो यसपटक माओवादी–एमाले चुनावी तालमेलको सम्भावना न्यून देखिन्छ । यद्यपी राजनीतिमा असम्भव भन्ने केही हुँदैन ।
पछिल्लो समयमा नेकपा एमालेले पनि माओवादी केन्द्रलाई महत्व नदिएको र कांग्रेस नेतृत्वको सरकारमै रहेका बेला कांग्रेसका शीर्ष नेताहरुबाट माओवादीको चर्को आलोचना हुन थालेपछि नेकपा माओवादी केन्द्रले पनि एक्लै चुनावमा होमिन तयारी गरेको छ ।
सो पार्टीका अध्यक्ष दाहालले आन्तरिक छलफलमा आफूहरु सकेसम्म पहिलो पार्टी बन्ने नभए पनि दोस्रो बन्ने सूचना पाएको जानकारी गराएका थिए ।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि सोमबार माओवादी केन्द्र कुनै दलसँग गठबन्धन नगरी चुनावमा जाने घोषणा गरेका छन् । आफ्नै अध्यक्षले जारी केन्द्रीय समितिमै सत्ता गठबन्धन तोडिने जोखिमका कारण व्याख्यात्मक घोषणासहित एमसीसी स्वीकार गरेको प्रस्ष्टीकरण दिइरहँदा पुनले भने एक्लै निर्वाचनमा जाने बताएका हुन् ।
“एकल रूपमा निर्वाचन लड्ने गरी तयारी गर्ने, आफ्नै खुट्टामा भर गरेर निर्वाचनमा जाने,” बैठकपछि उनले भने, “मिल्न सक्ने ठाउँमा मिल्ने गरी कार्यदल बनाएर काम पनि गर्ने, गठबन्धनमा तालमेल भए राम्रो, भएन भने आफ्नै ढंगले लड्छौँ ।”
विश्लेषकहरु पुनको यो घोषणालाई आत्मविश्वास देखाउने ‘नक्कली प्रयास’ भन्दै माओवादीसँग एक्लै चुनावमा जाने आत्मविश्वास नभएको बताउँछन् ।
विश्लेषक डा. विष्णु दाहाल प्रचण्ड एक्लै चुनाव लड्ने पक्षमा नउभिने दावी गर्छन् । अझै पनि प्रचण्डको पहिलो रणनीति कुनै न कुनै रुपमा स्थानीय तह निर्वाचन सार्नेमा केन्द्रित हुने उनको दाबी छ ।
“कुनै न कुनै रुपमा स्थानीय तहको निर्वाचन सार्ने प्रचण्डको पहिलो रणनीति हो । २०७० को निर्वाचनपछि उनी एक्लै चुनावमा गएका छैनन् । त्यसकारण अहिले पनि प्रचण्ड एक्लै चुनाव लड्दैनन्,” दाहालले बाह्रखरीसँग भने, “बरु कुनै हर्कत गरेर भए पनि चुनाव सार्ने उनको रणनीति हुन्छ । एक्लै चुनाव लड्छौं भन्ने प्रचारमात्रै हो ।”
२०७४ को निर्वाचनमा कांग्रेससँग सरकारमा बसेर उसैलाई धोका दिएको भन्दै अहिले उनले कांग्रेस र एमाले बाहेकका दलसँग तालमेल गर्नसक्ने बताउँछन् ।
“प्रचण्ड एकातिर एमाले बाहेकको वाम गठबन्धन बनाउने रणनीतिमा छन्,” दाहालले भने, “अर्कातिर कांग्रेसबाहेकका गैरबामसँग तालमेल गरेर बाम–प्रजातान्त्रिक गठबन्धनको नाममा चुनावमा जान उनको मुभ सुरु भएको देखिन्छ ।”
विश्लेषक मुमाराम खनाल माओवादी एक्लै चुनावमा जाने सम्भावना देख्दैनन् । माओवादी र एकीकृत समाजवादीको गठबन्धन करिव सुनिश्चित रहेको भन्दै अझै अरु शक्तिसँगको सहकार्य प्रचण्डको प्राथमिकतामा पर्ने उनको विश्लेषण छ ।
“एक्लै चुनावमा लड्ने सम्भावनै नरहने भन्ने त हुँदैन । दलले जित्ने नजित्ने एउटा कुरा हो । तर, दल गठन भएपछि स्वतन्त्र रुपमा नै चुनाव लड्ने हो । दलहरुले आफ्नो अवस्था हेरेर विभिन्न दलहरुसँग तालमेल गर्नु स्वभाविक कुरा पनि हो । यो स्थानीय निर्वाचनमा वाम गठबन्धन पनि बन्न सक्छ,” खनाल भन्छन्,“माओवादी र एकीकृत समाजवादीबीच स्वाभाविकरुपमा स्थानीय र संघीय निर्वाचनमा तालमेल हुने देखिन्छ । त्यस्तो गठबन्धनमा साना अरु वामपन्थी दलहरु पनि समावेश हुन सक्छन् ।”
नेपाली कांग्रेसहितका दलसँग गठबन्धनमा चुनावमा जाने सम्भावना भने न्यून रहेको उनको बुझाई छ ।
“नेपाली कांग्रेससँग संघीय तहमा एकाध सिटहरुमा ठूला नेताहरुलाई सघाउने गरी अप्रत्यक्ष गठबन्धन चाहिँ होला,” खनालले भने, “प्रचण्डजी सत्तामा रहेका सबै दलबीच गठबन्धन बनाएर लैजाने चाहनामा हुनुहुन्छ । तर, कांग्रेस त्यसरी जाँदैन भन्ने लाग्छ ।”
कम्युनिस्ट पार्टीका गतिविधि आश्चर्यजनक रुपमा हुने भन्दै एमालेसँग गठबन्धनको सम्भावना नै नरहेको भन्न नमिल्ने उनको बुझाई छ । तर, तत्काल त्यस्तो परिस्थिति भने नदेखिएको उनको तर्क छ ।
माओवादीसँग गठबन्धन नहुने एमाले धारणा
एमाले नेताहरु नेकपा सरकारको विघटनले ‘वाम गठबन्धन’को औचित्य पुष्टी हुन नसकेको भन्दै फेरि बाम एकता भन्दा त्यो जनतामा नबिक्ने बताउँछन् ।
“बाम गठबन्धनबाट चुनाव लडेर नेकपा बनिसकेपछिका घटना क्रमले अव बाम एकता जनतामा बिक्नेवाला छैन,” नेकपा एमालेका एक पदाधिकारी भन्छन्, “झन् माओवादी कहिले कांग्रेसले कहिले हामीले बोकेका कारण मात्र अवसरवादको उपयोग गरिरहेको छ । अबको चुनावमा हामी उसलाई बोक्ने पक्षमा छ्रैनौँ । कसैलाई नबोक्ने गरी कांग्रेस लिखित सम्झौता गर्न चाहन्छ भने हामी तयार छौँ ।”
तत्कालका लागि एमाले माओवादीसँग कति आक्रोसित छ भन्ने यो भनाईले देखाउँछ ।
पदाधिकारीबिनै माओवादीको चुनावी तयारी
माओवादी आठौं महाधिवेशन सकिएको चार महिनापछि हुन लागेको निर्वाचनमा पनि पार्टीको अध्यक्षबाहेकको पदाधिकारीबिना नै चुनावमा जाँदैछ ।
महाधिवेशनपछि पुस १९ मा बसेको केन्द्रीय कमिटी बैठकले पुनः अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्यो । तर, त्यसपछिको बैठकबाट अरु पदाधिकारी चयन गर्ने बताइए पनि त्यो भाका सर्दै आएको छ ।
कोभिड महामारी र अन्य राजनीतिक कारण देखाउँदै दुई महिनासम्म टारेर गत शुक्रबार र सोमबार बसेको केन्द्र्रीय समिति बैठकमा पदाधिकारी चयन एजेण्डाको रुपमा प्रस्तुत गरिएको थियो । तर, पदाधिकारी चयन स्थानीय तह निर्वाचन अघि नहुने निर्णय गरेर थाती राखेको छ ।
माओवादी केन्द्रको विधान अनुसार अध्यक्षबाहेक वरिष्ठसहित ७ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ पदाधिकारी रहने व्यवस्था छ । तर, अव माओवादी केन्द्र अध्यक्ष र प्रदेश इन्चार्ज मात्रै लिएर गाउँ पस्न लागेको छ ।
प्रतिकृया दिनुहोस