अत्याधुनिक स्वास्थ्य चौकी भवन निर्माण

छिनोफानो   मङ्गलबार १९, कार्तिक २०८२ १२:४७

डडेलधुरा  ।  डडेलधुरा सदरमुकाम बागबजारको पश्चिमतर्फ १४ किलोमिटरको मात्रै दुरीमा अवस्थित भागेश्वर गाउँपालिकाको अस्थायी मुकाम–४, बगरकोटमा स्वास्थ्य चौकीको आधुनिक भवन निर्माण गरिएको छ । सात करोड रुपियाँभन्दा बढीको लागतमा निर्माण गरिएको भवन सञ्चालन भए सेवा प्रवाहमा निकै सहज हुने भागेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मी र सेवाग्राहीको अपेक्षा छ । यसअघि यहाँ निर्माण गरिएको स्वास्थ्य चौकीको भवन चुहिने भइसकेको थियो ।

पर्याप्त कोठा नहुँदा सेवा प्रवाह असहज भएकाले सेवाग्राहीले समस्या झेल्नु परेको स्वास्थ्य शाखा अधिकृत मानबहादुर साहूले बताउनुभयो । उहाँका अनुसार दुईतले भवनको पहिलो तलामा नौ वटा कोठा र माथिल्लो तलामा २४ घण्टा सेवा दिने स्वास्थ्यकर्मीका लागि दुई वटा आवासका कोठा छन् । बिरामीका लागि तल्लो तलाको छेउमा शैचालयसँगै फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटसमेत निर्माण गरिएको छ । नवनिर्मित भवनबाट सेवा प्रारम्भ भए स्वास्थ्य चौकीबाट दिइने प्रतिकारात्मक, प्रवर्धनात्मक र उपचारात्मक सेवा चौबिसै घण्टा पाउनुका साथै फराकिलो र सफा भवनभित्रका अलग अलग कक्षबाट सेवाग्राहीले सेवा पाउने उहाँले बताउनुभयो । 

स्वास्थ्य चौकीबाट वार्षिक सरदर तीन हजार बिरामीले सेवा लिने गरेका छन् । उहाँले भन्नुभयो, “सीमित स्रोतसाधनमा सक्दो गुणस्तरीय सेवा प्रवाह गर्ने कोसिस गरिरहेका हुन्छौँ । गाउँपालिकाले वार्षिक ३८ लाख रुपियाँसम्म बजेट स्वास्थ्य शाखाका लागि छुट्याउने गरेको छ । शिविर आयोजना भए थप रकम उपलब्ध हुने गरेको छ ।”

भागेश्वर गाउँपालिकामा गत वर्ष सरकारले उपलब्ध गराउने स्वास्थ्य उपचार खर्च उपभोग गर्ने ११ जना रहेका उहाँले बताउनुभयो । उहाँका अनुसार क्यान्सर, मिर्गौला प्रत्यारोपण, डायलासिसलगायत दीर्घरोगीलाई सरकारले मासिक रूपमा उपलब्ध गराउने पाँच हजार रुपियाँ पाउने ११ जना छन् । गाउँपालिकाले गत वर्ष शल्यक्रियासहित आँखा शिविर र स्वास्थ्य शिविर आयोजना गरेको थियो । 

जर्मन विकास बैङ्क केएफडब्लुको अनुदान भ्याट रकमसहित सात करोड १७ लाख ६२ हजार रुपियाँको लागतमा आधुनिक भवन निर्माण गरिएको भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले जानकारी दिनुभयो । उहाँका अनुसार जर्मन प्रविधिबाटै स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । ग्रामीण क्षेत्रमा शिशु स्याहार र मातृत्व सुधारका लागि स्वास्थ्य चौकीको भवन निर्माण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार भागेश्वरको ग्रामीण क्षेत्र रुपालमा पनि १० शøयाको अस्पताल निर्माणको काम जारी छ । भागेश्वर गाउँपालिका–२ मा पर्ने रुपाल क्षेत्र भारतीय सिमाना काली नदीसँग जोडिएको क्षेत्र हो । बगारकोटसम्म सडक कालोपत्रे भए पनि त्यसउता साँघुरो ग्रामीण कच्ची सडक छ । रुपालबाट जिल्ला सदरमुकाम पुग्न करिब पाँच घण्टाको यात्रा गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।    

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु