धनगढी । माओवादी केन्द्रसँग पार्टी एकता गर्ने अध्यक्ष माधवकुमार नेपालको निर्णयपछि नेकपा (एकीकृत समाजवादी) औपचारिक रूपमा फुटेको छ। शनिबार सुकेधारास्थित पार्टी कार्यालयमा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष घनश्याम भुसाल, पूर्वमन्त्री रामकुमारी झाँक्रीलगायत नेताहरुको उपस्थितिमा बेग्लै भेला बसेपछि पार्टी दुई धारमा विभाजित भएको स्पष्ट संकेत देखिएको छ।
एकीकृत समाजवादीभित्र संगठनात्मक र सैद्धान्तिक मतभेद पार्टी गठनदेखि नै रहँदै आएको थियो। तत्कालीन नेकपा (एमाले) फुटेपछि बनेको यस पार्टीमा माधव नेपाल र झलनाथ खनालबीच विचार र कार्यशैलीमा लगातार दूरी बढ्दै गइरहेको थियो।
हाल माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा माधव समूहले गरेको औपचारिक निर्णय नै अन्ततः विभाजनको निर्णायक कारण बनेको छ।
खनाल–भुसाल पक्षले एकता प्रस्तावलाई “सैद्धान्तिक विचलन र अस्तित्व मेटाउने निर्णय” भनेर आलोचना गर्दै पार्टीको मूल आत्मा र एमालेबाट अलग भएर बनेको सैद्धान्तिक आधार नै खतरामा परेको ठहर गरेको छ।
सुकेधाराको भेला र नयाँ राजनीतिक संकेत
सुकेधारामा भएको भेलाले आफूहरूलाई “माधव नेपाल समूहको गलत निर्णयबाट स्वतन्त्र” घोषणा गर्दै आगामी राजनीतिक यात्राको तयारी थालेको छ।
भेलामा वरिष्ठ नेता खनाल, घनश्याम भुसाल, रामकुमारी झाँक्रीलगायत नेताहरूले “बाम एकताको नाममा माओवादीमा विलय हुनु पुनः पुरानो गल्ती दोहोर्याउने” टिप्पणी गरेका छन्।
भेलाको निष्कर्षमा अबको वैकल्पिक बाटोको रुपमा एमालेमा फर्कने सम्भावना खुला राखिएको बुझिएको छ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पनि हालैको केन्द्रीय समिति बैठकमा “एकीकृत समाजवादीभित्र सच्चा कम्युनिस्टहरू फर्कन तयार छन् भने स्वागत गरिन्छ” भन्ने सन्देश पठाइसकेका थिए।
माओवादीसँगको एकता प्रक्रिया र विवाद
माधव नेपाल नेतृत्वले हालै बसेको केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रसँग “वैचारिक–संगठनात्मक स्तरको एकता प्रक्रिया अघि बढाउने” निर्णय गरेको थियो।
तर, सो निर्णयप्रति असन्तुष्ट समूहले पार्टी विधानविपरीत एकल निर्णय भएको भन्दै आपत्ति जनाएको छ।
उनहरूका अनुसार, पार्टीभित्र व्यापक छलफल बिना माओवादी केन्द्रमा विलयको तयारी हुनु ‘संगठन र कार्यकर्ताको अपमान’ हो।
माओवादी केन्द्रका नेताहरूले भने वामपन्थी एकता प्रक्रियालाई “दीर्घकालीन रणनीतिक कदम” भन्दै स्वागत गरेका छन्। तर, औपचारिक मर्जरबारे अहिलेसम्म कुनै लिखित सहमति भएको छैन।
एकीकृत समाजवादी फुट्नुले नयाँ समीकरणको संकेत दिएको छ।
खनाल–भुसाल समूह विपक्षी एमालेसँग पुनः नजिकिन सक्छ।
राजनीतिक विश्लेषकहरूको मतमा,
“यो फुट केवल संगठनात्मक होइन, वाम राजनीतिमा नयाँ ध्रुवीकरणको सुरुवात हो। माधव नेपालले सत्ता र सञ्जालमा आधारित गठबन्धन रोजे भने खनाल–भुसाल समूहले पुनः विचार र सिद्धान्तको आधारमा अलग बाटो लिन सक्छ।”
चार वर्षअघि एमाले फुटाएर बनेको नेकपा (एकीकृत समाजवादी) फेरि फुट्नु वाम राजनीतिका लागि पुनरावृत्त भएको ऐतिहासिक घटना हो।
माओवादीसँगको एकता खोज्ने माधव समूह र एमालेमा फर्कने संकेत देखाउने खनाल–भुसाल समूहबीचको विभाजनले नेपाली वाम राजनीतिलाई फेरि एकपटक संगठनात्मक पुनर्संरचना र विचारगत पुनर्परिभाषा तर्फ धकेलेको छ।
प्रतिकृया दिनुहोस