एसीसी प्रिमियर कप क्रिकेटमा नेपालकाे विजयी शुरुवात, मलेसियालाई ५ विकेटले हरायाे

छिनोफानो   शुक्रबार ३०, चैत २०८० ०९:३९

काठमाण्डाै –  एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरुवात गरेकाे छ । आज भएकाे खेलमा नेपालले मलेसियालाई ५ विकेटले हरायाे ।

मलेसियाले दिएकाे १ सय ४४ रनकाे लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान राेहित पाैडेल र आसिफ शेखले समान ३२, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २०, गुल्सन झाले नट आउट १९, सन्दीप जाेराले नट आउट १२ रन बनाए । बलिङतर्फ मलेसियाका वीरनदीप सिंहले ३ विकेट लिए ।

यसअघि ओमानकाे अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस जितेर ब्याटिङ गरेकाे मलेसियाले २० ओभरमा ३ विकेट १ सय ४३ रन बनायाे । मलेसियाका कप्तान वीरनदीप सिंहले नट आउट ६८, शर्भिन मुनियन्दीले ४१ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले २ र अबिनाश बाेहराले १ विकेट लिए ।

यसअघि आजै भएकाे खेलमा घरेलु टाेली ओमान र यूएईले विजयी शुरुवात गरेका छन् । ओमानले बहराइनलाई ३ रनले हरायाे भने यूएईले कुवेतलाई ७ विकेटले हरायाे ।

प्रतियाेगितामा नेपालले दाेस्राे खेलमा पर्सि शनिवार कतारसँग, वैशाख ३ गते साेमवार हङकङसँग र वैशाख ४ गते बुधवार समूह चरणकाे अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नेछ ।

भोलिदेखि शुरु हुने प्रिमियर कप वैशाख ९ गतेसम्म चल्नेछ । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

टी–२० फम्र्याटमा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघि नै रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु