पवन भण्डारी धनगढी । लामो समय देखि विवादमा तानिँदै आएको जिल्ला अस्पताल अछाम फेरि विवादमा तानिएको छ । विगत केही समय अस्पतालको सेवा सुविधामा सुधार आएपछि शान्त रहेको जिल्ला अस्पतालमा फेरि तरंग पैदा भएको हो ।
जिल्ला अस्पताल अछामका निमित्त मेसु डाक्टर कम्लेश कुमार यादवले अस्पतालमा भएको आर्थिक बेरुजु तत्काल बुझाउन सूचना प्रकाशित गरेपछि अस्पतालका केही कर्मचारीहरूको टाँउको दुः खाई बनेको थियो । डाक्टर यादवले अस्पतालका अहेब हितेश खड्काको नाममा रहेका १८ लाख ७२ हजार बढी रकम बेरुजु तत्काल दाखिला गर्न सूचना प्रकाशित गरेका थिए ।
अस्पताल भित्र आर्थिक पारदर्शिता कायम गर्नका लागी डाक्टर यादवले गरेको उक्त निर्णय अस्पतालका केही कर्मचारीलाई मन परेको थिएन । हितेश खड्का यो बेरुजु बारे पहिले पनि पूर्व मेसु डा रबी यादव र डा चन्द्र शेखर यादवले समेत दाखिलाका लागी सूचना प्रकाशित गरेका थिए ।
तर उनीहरूलाई राजनीतिक दम्भका कारण सरुवा गरिएको थियो । हाल पनि सोही घटना दोहोरिएको छ । डाक्टर यादवको यो कदम पछि आफूहरू पनि हितेशको बेरुजुमा जोडिने डरले अस्पतालमा केही कर्मचारीले यादवको स्थानमा अर्को मेसु ल्याउन जोडतोडका साथ लागे । उनीहरूले आफ्नो राजनीतिक मिसन सफल बनाई छोडे । हाल जिल्ला अस्पताल अछाममा उनको ठाउँमा ९ औँ तहका प्रदेश कर्मचारी डा वेद कुमार चौधरीलाई पठाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय अछाममा दरबन्दी भई ४ वर्षदेखि अस्पतालमा ‘दोहोरो जिम्मेवारी’का नाममा रजगज गर्दै आएका सहायक प्रशासकीय अधिकृत झपट बहादुर थापा नै निमित्त मेसु कम्लेश कुमार यादवलाई जिम्मेवारीबाट हटाउन हात धोएर लागेको समाचार श्रोत बताउँछ । थापा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह निकट हुँदा उनलाई कसैले केही गर्न नसक्ने र उनको विरुद्धका बोल्ने जो कोहीले पनि अस्पतालबाट बाहिरिनु पर्ने अवस्था सिर्जना हुने गरेको श्रोतको दाबी छ ।
छिनोफानो डटकम लाई प्राप्त प्रमाण अनुसार थापाले तत्कालीन मेसु डा कम्लेश कुमार यादवलाई अस्पताल बारे नबोल्न भन्दै धम्की दिएको देखिन्छ । थापाले डाक्टर यादवलाई ए टु जेट सबै कुरा बाहिर ल्याई दिने धम्की दिएका छन । थापा र डा यादवको संवादमा नै अस्पताल भित्रको आर्थिक हिनामिनाले सीमा नाघेको प्रष्ट हुन्छ । डाक्टर यादवले आफूले पहिला नै हिसाब क्लियर गर्नु भनेर भनेको ठाउँमा उल्टै पाओरस्व गर्नु भयो भन्दै थापालाई जवाफ दिएको देखिन्छ ।
डाक्टर यादवले हितेशले बेरुजु तिर्छ र फार्मेसीको तपाइ मिलाई दिनुस् हिसाब मिल्छ भन्दै जवाफ दिएका छन । थापा र यादव बिचको कुराकानीमा थापा हुन्छ डन भन्दै जवाफ दिएका छन । थापाले खेल तपाईँले सुरु गर्नु भयो अन्त्य म गर्छु जस्ता शब्दहरू समेत प्रयोग गरेको देखिन्छ ।
स्वास्थ्य निर्देशनालयलाई छानबिन गर्न सामाजिक विकास मन्त्रालयको पत्र
जिल्ला अस्पताल अछाममा भएको आर्थिक अनियमितता बारे सामाजिक विकास मन्त्रालयले छानबिन गर्ने भएको छ । मन्त्रालयले स्वास्थ्य निर्देशनालय डोटी लाई पत्राचार गर्दै १५ दिन भित्र छानबिन गरि प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।
प्रतिकृया दिनुहोस