अछाम । अछाम जिल्ला अस्पतालमा लामो समयदेखि चरम बेथिति चलिरहेको खुलासा भएको छ । बेथितिको सीमा यतिसम्म छ कि १८ लाख नगद हिनामिना मात्र भएको छैन ५० लाख बराबरको औषधि समेत गायब पारिएको छ । तर बिडम्बना दुर्गम गाउँबाट घण्टौं पैदल हिँडेर आउने बिरामीले सिटामोल समेत नपाउने अवस्था छ ।
सरकारी फार्मेसीमा निस्शुल्क पाउनुपर्ने सिटामोल र जीवन रक्षक औषधिहरू ‘स्टक छैन’ भन्दै बिरामीलाई निजी मेडिकलतिर पठाउने गरिन्छ । यता, अस्पतालको स्टोरबाटै झन्डै ५० लाख मूल्य बराबरको औषधि र उपकरण रहस्यमय ढंगले गायब पारिएको तथ्य सार्वजनिक भएको छ ।
चिकित्सक र राजनीतिक संरक्षणप्राप्त कर्मचारीहरूको मिलेमतोमा अस्पतालको बेहाल पारिएको छ । घोटालामा अस्पतालका उच्चपदस्थ कर्मचारी, राजनीतिक पहुँच भएका प्रशासक र स्टोर प्रमुखको प्रत्यक्ष संलग्नता रहेको स्रोतको दाबी छ ।
अस्पताल स्रोतका अनुसार पछिल्लो दुई आर्थिक वर्षमा मात्रै १८ लाख ७२ हजार ५५३ रूपैयाँ हिनामिना भएको छ । यो रकम बिरामीले उपचार बापत तिरेको शुल्क हो, जुन सरकारी खातामा दाखिल हुनुपर्ने थियो । करारमा कार्यरत हेल्थ असिस्टेन्ट हितेश खड्काको युजर आईडी प्रयोग गरी नगद काउन्टरबाट यो रकम गायब पारिएको छ ।
त्यति मात्र होइन, अस्पतालको स्टोरबाट झन्डै ५० लाख मूल्य बराबरका औषधि र उपकरण पनि गायब पारिएको छ । स्टोरबाटै सामान हराउनुले अस्पताल प्रशासनको इमानदारितामाथि गम्भीर प्रश्न उठाएको छ ।
बेरुजु रकम दाखिला गर्न हेल्थ असिस्टेन्ट हितेश खड्कालाई गरिएको ताकेतापत्र ।
गएको ८र१० वर्षदेखि नगद र औषधि हराइरहेको स्रोतको दाबी छ । हेल्थ असिस्टेन्ट खड्काले आफ्नो युजर आईडीबाट रकम बाहिरिएको स्वीकार गरे । जुन रकम तिर्नका लागि जग्गा बेच्ने तयारीमा रहेको उनले बताए । त्यो रकम कहाँ गयो भनेर सोध्दा उनले स्पष्ट जवाफ दिएनन् । तर सिस्टम चलाउन नजानेर समस्या भएको दाबी गरे ।
अस्पताल पुग्ने बिरामीले सामान्य दुखाइ कम गर्ने औषधिसम्म नपाउने गुनासो गरेका छन् । तर, अस्पतालको कागजी अभिलेखमा भने लाखौंका औषधि खरिद गरिएको देखिन्छ ।
स्रोत भन्छ, ‘स्टोर प्रमुख गङ्गा बुढा मगर र सहायक प्रशासकीय अधिकृत झपटबहादुर थापाको प्रत्यक्ष निगरानीमा रहने स्टोरबाट औषधि बाहिरका निजी क्लिनिक र मेडिकलमा सप्लाइ’ हुने गरेको छ ।’
थापा स्वास्थ्य कार्यालय अछाममा दरबन्दी भए पनि ४ वर्षदेखि अस्पतालमा ‘दोहोरो जिम्मेवारी’का नाममा रजगज गर्दै आएका छन् । थापाको पहुँच मुख्यमन्त्री कार्यालयसम्म रहेको अस्पतालका एक कर्मचारी बताउँछन् । गत वर्ष सामाजिक विकास मन्त्रालयले उनको सरुवा गर्न खोज्दा मुख्यमन्त्री कार्यालयले नै हस्तक्षेप गरी सरुवा रोकेको थियो ।
उनले १८ लाख ७२ हजार ५ सय ७३ नगद कर्मचारी हितेश खड्काको युजर आईडीबाट हराएको पुष्टि गरे । रकम दाखिला गर्न पटक(पटक ताकेता गरेको भए पनि खड्काले नबुझाएको थापा बताउँछन् । अहिले खड्काको तलब भत्ताबाट असुल उपर भइरहेको थापाले बताए । अस्पतालको ५० लाख बराबरको औषधि हराएको विषयमा उनले म्याद गुज्रिएका औषधिको झन्डै २४र२५ लाखको हिसाब नमिलिरहेको स्वीकार गरे ।
यस्तै, स्टोर प्रमुख बुढा मगर वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक २२ वर्षदेखि एउटै अस्पतालमा कार्यरत छन् । मगर हाल स्टोर, खरिद एकाइ र नर्सिङ इन्चार्जको जिम्मेवारी छन् । उनी चार वर्षदेखि स्टोर प्रमुख छन् । उनकै संरक्षणमा औषधि र उपकरण चोरी हुने गरेको स्रोतको दाबी छ । यद्यपि अस्पतालकी सूचना अधिकारी समेत रहेकी बुढा मगरले अस्पतालमा भएको हिनामिना र औषधि गायबबारे आफू बेखबर रहेको जवाफ दिइन् ।
‘कार्यालय प्रमुखलाई जानकारी होला । लेखालाई जानकारी होला । म रकम हिनामिना भएको र औषधि हराएको बारे हो हैन भन्न सक्ने अवस्थामा छैन’, उनले भनिन् ।
२२ वर्षदेखि एउटै अस्पतालमा रहेको विषयमा उनले अछाममै आवश्यकता रहेकाले बसेको बताइन् । ‘दुर्गममा जो कोही बस्न मान्दैनन्, मैले सेवा गरिरहेकी छु । संघमा समायोजन हुन खोजेको थिएँ, भइनँ । मैले सरुवा पनि मागेको हुँ तर मन्त्रालयले सरुवा नै गरेन’, उनले भनिन् ।
अस्पतालको बदमासी थाहा पाएपछि छानबिनका लागि फागुन १० गते नै सामाजिक विकास मन्त्रालयमा लिखित उजुरी परेको थियो । तर, उजुरी दर्ता भएको १८ दिन बितिसक्दा पनि मन्त्रालयले कुनै एक्सन लिएको छैन ।
मन्त्रालयका सचिव डा। हेमराज रेग्मीले भने निर्वाचनको समय रहेकाले तत्काल नै एक्सन लिन समस्या भएको बताए ।
‘निर्वाचन सकिएपश्चात् हामी नियमित कामकारबाहीमा फर्किएका छौं । मन्त्रीज्यू पनि भोलिपर्सी मन्त्रालय आउनुहुन्छ होला । उहाँ आएलगत्तै छलफल गरेर आवश्यक प्रक्रिया हामी पूरा गर्छौं’, सचिव रेग्मीले भने ।
प्रकरण लुकाउन डाक्टरको सरुवा
अछाम जिल्ला अस्पतालमा भएको झन्डै ७९ लाखको ९१८ लाख नगद र ५० लाख औषधि० अनियमितता प्रकरण लुकाउन सुदूरपश्चिम प्रदेश सरकार र मुख्यमन्त्री कार्यालयले हस्तक्षेप शुरू गरेको छ । अनियमितताको फाइल खोलेर छानबिनका लागि मन्त्रालयमा पत्र पठाउने अस्पतालका निमित्त प्रमुख डा। कमलेश प्रसाद यादवलाई जानकारी समेत नदिई रातारात जिम्मेवारीबाट हटाइएको छ ।उनको ठाउँमा ९औं तहका प्रदेश कर्मचारी डा। वेद कुमार चौधरीलाई पठाइएको छ । सुदूरपश्चिमका दार्चुला, डोटी, बाजुरा र टीकापुरजस्ता अस्पतालमा दरबन्दी खाली हुँदाहुँदै डा। चौधरीलाई अछाम नै किन पठाइयो रु भन्दै अहिले मुख्यमन्त्री कार्यालयको चर्को आलोचना भइरहेको छ ।
मुख्यमन्त्री कार्यालयका प्रवक्ता नवराज ओझाले डा। चौधरीलाई मुख्यमन्त्री कार्यालयले नै सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर अछाम खटाइएको पुष्टि गरे । ‘प्रदेश लोकसेवाबाट आएका डा।चौधरीलाई अछाम खटाइएको हो । यसमा सम्बन्धित मन्त्रालयसँग समन्वय भएको हुन्छ । उनलाई अछाम नै किन पठाइयो थाहा भएन । कि उनले अछाम नै मागेको हुनुपर्छ कि त दरबन्दी रिक्त रहेको अवस्थामा पठाइएको हुन सक्छ’, ओझाले भने ।जिल्ला अस्पताल अछामका प्रमुख डा। वेदकुमार चौधरीलाई यो विषयमा बुझ्न पटक(पटक फोन गर्दा पनि उनी सम्पर्कमा आएनन् ।
यसअघिका कार्यालय प्रमुख डा। यादवले अस्पतालमा रहेको बेथिति र अनियमितताविरुद्ध अथक प्रयास गर्दा पनि आफूले नसकेको बताए । ‘म अस्पतालमा आउनुभन्दा धेरै अघि, झण्डै १० वर्षदेखि नै अस्पतालमा लुटतन्त्र चलिरहेको रहेछ । मैले आफ्नो कार्यकालमा नियमन गर्ने सक्दो प्रयास गरेको हुँ, सम्भव भएन’, डा। यादवले भने, ‘सम्बन्धित निकायले के गर्छ अब उहाँहरूको कुरा हो ।’जिल्ला अस्पताल अछाममा भइरहेको बेथितिमा संलग्न कर्मचारीहरूलाई मुख्यमन्त्री कमलबहादुर शाहको संरक्षण रहेको स्रोतको दाबी छ । तर मुख्यमन्त्री शाहले भने यसमा कुनै सत्यता नरहेको बताए ।
‘यसमा मेरो संलग्नता वा संरक्षण भन्ने केही छैन । कुनै पनि विषयमा म दोषी देखिएँ भने कारबाहीको भागिदार हुन तयार छु’, मुख्यमन्त्री शाहले भने ।
प्रतिकृया दिनुहोस