नाइजेरियामा ट्याङ्कर दुर्घटनापछि विस्फोट हुँदा तेल सङ्कलन गर्न पुगेका ७७ जनाको ज्यान गयो

छिनोफानो   आइतबार ०६, माघ २०८१ १०:५८

नाइजेरियामा इन्धन बोकेको ट्याङ्कर दुर्घटनापछि विस्फोट हुँदा कम्तिमा ७७ जनाको ज्यान गएको छ । उद्धारकर्तासहित २५ जना घाइते भएका छन् । उत्तर मध्य नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी) का प्रमुख कुमार सुक्वामका अनुसार ६० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर सुलेजा क्षेत्रमा दुर्घटना भएको हो ।

ट्याङ्कर दुर्घटनापछि घटनास्थलबाट तेल सङ्कलन गर्न पुगेका ७७ जनाले ज्यान गुमाएका सुरक्षाकर्मी र उद्धारकर्तालाई उद्धृत गरी बीबीसीले जनाएको छ । मानिसहरूले तेल निकाल्न थालेको केहीबेरमै विस्फोटको घटना भएको थियो । हिजो भएको घटनामा घाइते भएकाहरुको नजिकैका अस्पतालमा उपचार भइरहेको छ ।

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट र दुर्घटनाका घटना पटक–पटक हुँदै आएका छन् । गएको अक्टोबरमा चुहावट पेट्रोल सङ्कलन गर्ने क्रममा भएको विस्फोटमा कम्तिमा एक सय ५३ जनाले ज्यान गुमाएका थिए । गम्भीर आर्थिक सङ्कट झेल्दै आएको नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणाले बढेको छ ।

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुको लामो समयदेखिको इन्धन अनुदान हटाउनेलगायतका आर्थिक नीतिपछि इन्धनको मूल्य उच्च भएको छ । सरकारले आफ्नो नीतिबाट अर्थतन्त्रलाई बलियो बनाउने उदेश्य रहेको बताएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु