काठमाण्डाै – जय ट्रफी एलिट कप अन्तर्गतको दुईदिवसीय क्रिकेटमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी शुरुआत गरेका छन् ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा आर्मीले साविक विजेता नेपाल पुलिस क्लबलाई ९ विकेटले हरायो । पुलिसले दिएको ४२ रनको लक्ष्य आर्मीले १ विकेट गुमाएर भेटायो । आर्मीका कुशल मल्लले २४ बलमा नटआउट ४२ रन बनाए । पुलिसका ललित राजवंशीले १ विकेट लिए ।
दोस्रो पारीमा पुलिस ८८ रनमा अलआउट भएको थियो । पुलिसका कुशल भुर्तेलले ४८ रन बनाए । आर्मीका बसिर अहमदले ४, कुशल मल्लले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको पुलिसले पहिलो पारीमा ८ विकेट गुमाएर १८७ रन बनाउँदा पारी समाप्तिको घोषणा गरेको थियो । पुलिसका रशिद खानले ३८, कप्तान आरिफ शेखले ३६ रन बनाए । आर्मीका पवन कार्कीले ४ विकेट लिए ।
आर्मीले पहिलो पारीमा ९ विकेट गुमाएर २३४ रन बनाउँदा पारी समाप्तिको घोषणा गरेको थियो । आर्मीका भीम सार्कीले नटआउट १०५ रन बनाए । पुलिसका सागर ढकालले ६ विकेट लिए ।
यस्तै मूलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा एपीएफले बागमती प्रदेशलाई ८ विकेटले हरायो । बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले २ विकेट गुमाएर भेटायो । एपीएफका आसिफ शेखले ५९, कप्तान रोहित पौडेलले नटआउट ५६ रन बनाए । बागमतीका रिजन ढकाल र सूर्य तामाङले १/१ विकेट लिए ।
दोस्रो पारीमा बागमती १६८ रनमा अलआउट भएको थियो । बागमतीका कप्तान ईशान पाण्डेले ८४ रन बनाए । एपीएफका इर्शाद अहमदले ५ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको बागमतीले पहिलो पारीमा ९ विकेट गुमाएर २०७ रन बनाउँदा पारी समाप्तिको घोषणा गरेको थियो । बागमतीका विवेक मगरले ४२ रन बनाए । एपीएफका इर्शाद अहमदले ३ विकेट लिए ।
एपीएफ पहिलो पारीमा २३९ रनमा अलआउट भएको थियो । एपीएफका कप्तान रोहित पौडेलले नटआउट ८७, सन्दीप जोराले ६१ रन बनाए । बागमतीका रिजन ढकालले ३ विकेट लिए ।
प्रतियोगितामा गएको वर्षको प्रधानमन्त्री कपको शीर्ष ४ टोली सहभागी छन् । समूह चरणपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनलमा खेल्नेछन् । फाइनल खेल मार्च १ देखि ३ सम्म त्रिवि क्रिकेट रङ्गशालामा हुनेछ ।
गएको वर्ष आर्मीलाई हराउँदै पुलिसले उपाधि जितेको थियो ।
प्रतिकृया दिनुहोस