धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरेर भारतबाट ल्याइएका अवैध सामान बरामद गरेको छ।
कैलालीको टिकापुर नगरपालिका–४ मौरनियाबाट अन्दाजी ७२ हजार १०० रुपैयाँ बराबरका सकेट पाइप, रेक माल, पिलेन सकेट, एल सकेट, बोल्ड सकेट र टी–सकेट लगायतका सामग्री प्रहरीले फेला पारेको हो। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले आइतबार साँझ ती सामान बेवारिसे अवस्थामा भेटेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–४ मदनचोक र बेलौरी नगरपालिका–६ भुराकोट क्षेत्रबाट पनि भन्सार छली गरी ल्याइएका अन्दाजी २ लाख ८९ हजार १०० रुपैयाँ बराबरका सुटको थान कपडा, साडी र माछा लगायतका सामान बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले आइतबार ती सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस