पवन भण्डारी,धनगढी । बिरामीलाई सिटामोल समेत नपाउने जिल्ला अस्पताल अछाममा करिब २५ लाख बराबरको औषधीको म्याद नाघेको खुलेको छ । जिल्ला अस्पताल अछामले शुक्रवार गरेको पत्रकार सम्मेलनमा अस्पतालका सहायक प्रशासकीय अधिकृत झपट बहादुर थापाले नै सो कुराको पुष्टि गरेका हुन ।
अस्पतालका अहेब हितेश खड्काको नाममा रहेका १८ लाख ७२ हजार बढी रकम बेरुजु र ५० लाख बढिको औषधी र उपकरण स्टोर बाट हराए शीर्षकमा समाचार प्रकाशन भएपछि सो कुरा बारे स्पष्ट पार्न अस्पतालले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा अधिकृत थापाले स्टोरको सामान गायब नभए र अस्पतालको फार्मेसी सञ्चालन भए देखि हाल सम्म करिब २५ लाखको औषधीको म्याद नाघेको बताए ।
उनले यो कुरा महालेखाको प्रतिवेदनमा समेत उल्लेख भई सकेको बताउँदै ५० भनेर आएको समाचारमा सत्यता नरहेको बताए । तर जिल्ला अस्पताल अछाममा बिरामीले सिटामोल र सामान्य घाउमा लगाउने पट्टीहरू समेत खरिद गर्नु पर्ने अवस्था रहेको बिरामीहरूको गुनासो रहेको छ । लाखौँको औषधी खेर जानु र अस्पताल प्रशासन मौन बस्नुले जिल्ला अस्पताल अछामको प्रशासनलाई प्रश्न चिन्ह खडा गरेको छ । पत्रकार सम्मेलनमा थापाले बोलेको भिडियो छिनोफानो डटकम सँग सुरक्षित रहेको छ ।
प्रतिकृया दिनुहोस