सशस्त्रको डिएसपीमाथि आक्रमण गर्ने एक जना पक्राउ

छिनोफानो   शुक्रबार ०६, चैत २०८२ १२:५४

धनगढी : कैलालीको खक्रौला नाकामा सशस्त्र प्रहरीको बीओपीभित्र प्रवेश गरेर सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलमाथि आक्रमण गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। डीएसपी पौडेलले दिएको जाहेरीका आधारमा टीकापुर नगरपालिका–९ का ४० वर्षीय रामबहादुर साउँदलाई पक्राउ गरिएको हो।

कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी)योगेन्द्र तिमिल्सिनाले इलाका प्रहरी कार्यालय टीकापुरले उनलाई पक्राउ गरेको जानकारी दिए। सशस्त्र प्रहरीका डीएसपी पौडेलले दिएको आपराधिक उपद्रव मुद्दामा साउँदलाई पक्राउ गरिएको हो।

साउँदसँगै अन्य पाँच जनाको नाममा समेत जाहेरी दिइएको छ। बीओपीभित्र प्रवेश गरेर सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा टीकापुरकै नयन साउँद, सर्पराज साउँद, सुरेश खड्का, रमेश खड्का र भारतको लखिमपुर खिरी बस्ने रशिद आलिखानविरुद्ध समेत जाहेरी दिइएको छ। फरार रहेका उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीको बीओपी खक्रौलाले जीएसटी बिल र भारतीय भन्सार पास भएका टीकापुरका व्यवसायीका सामान मंगलवार जफत गरेपछि विवाद भएको थियो। सोही विषयमा छलफल गर्न टीकापुर उद्योग वाणिज्य संघको टोली बीओपी खक्रौलामा पुगेका बेला बुधवार सशस्त्र प्रहरीमाथि एक समूहले आक्रमण गरेको थियो।

बिल–बिजक भेटिएपछि सशस्त्र प्रहरीले व्यवसायीले भारतबाट ल्याएको सामान उद्योग वाणिज्य संघमार्फत सम्बन्धित व्यवसायीलाई फिर्ता गरेको थियो। घटनाको छानबिनका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनीले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अनिल कार्कीको संयोजकत्वमा समिति गठन गरेको छ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु