सुदूरपश्चिमसहितका प्रदेशमा आँधी र वर्षा

छिनोफानो   शुक्रबार ०६, चैत २०८२ ०८:१५

शुक्रबार दिउँसोदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना छ । शुक्रबारदेखि नै दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लामा र पर्सि शनिबार कोशी प्रदेशका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ । हावाहुरीको वेग झन्डै ११९ किलोमिटर प्रतिघण्टाको हुने प्रक्षेपण छ ।

त्यसैले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गरेर मौसम बदलीसँगै देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहने प्राधिकरणको भनाइ छ ।

पछिल्ला केही दिन हावाहुरीका घटनाका कारण मानिसको मृत्यु तथा घाइते भएको भन्दै प्राधिकरणले जोखिम पूर्वानुमान गरिएका क्षेत्रमा बसोबास तथा यात्रा गर्ने नागरिकले विशेष सतर्कता अपनाउन भनेको हो ।

प्राधिकरणले विशेष काम नपरी यात्रामा ननिस्कन, हावाहुरी चलेका बेला घरका झ्यालढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरू बन्द गर्न, सवारीसाधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान अनुरोध समेत गरेको छ ।

हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनि नबस्न, बिजुलीको तार लत्रिएको छ भने नछुन, सो समयमा विद्युतीय उपकरण नचलाउन तथा जोखिमयुक्त स्थानमा नबस्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु