प्रधानमन्त्रीको शपथ आज

छिनोफानो   शुक्रबार १३, चैत २०८२ ०८:३५

काठमाडौँ : प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ।
रास्वपा केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको विधान परिमार्जनसहित पार्टीका वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो। गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनअघि भएको सहमतिमा शाह संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने घोषणा भएको थियो।
सोही सहमति अनुसार केन्द्रीय समितिको बैठकले संसदीय दलसम्बन्धी विधानमा रहेको बाधा अड्काउ (धारा ८०) फुकाउँदै केन्द्रीय समितिलाई प्राप्त अधिकार प्रयोग गरी संसदीय दलको विधान परिमार्जन गरेको हो। रास्वपा सभापति रवि लामिछानेको प्रस्तावलाई केन्द्रीय समिति बैठकले सर्वसहमतिसहित अनुमोदन गरेको हो । शाह संसदीय दलको नेता चयन भएसँगै सभापति लामिछानेले आगामी प्रधानमन्त्रीका रूपमा शाहलाई शुभकामना व्यक्त गरे।
लामिछानेको उक्त भनाइपछि संसदीय दलको बैठकले सामूहिक रूपमा घन्टी बजाएर अनुमोदन गरेको थियो। वरिष्ठ नेता शाह संसदीय दलको नेता चयन भएसँगै प्रधानमन्त्रीमा उहाँको शपथग्रहणको तयारी भइरहेको छ।
शुक्रवार अपराह्न १२ः३४ बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई नेपालको संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीको शपथग्रहण गराउनुहुने गरी राष्ट्रपति कार्यालयमा तयारी गरिएको छ। प्रधानमन्त्रीको शपथसँगै मन्त्रीपरिषद् विस्तार गर्नेबारे सभापति लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डोलप्रसाद (डिपी) अर्याल र डा. स्वर्णिम वाग्लेबिच निरन्तर छलफल र परामर्श भइरहेको छ । आगामी सरकार सुशासन र मितव्ययिता कायम गर्ने गरी सानो आकार (१५ देखि १८) जनाको गठन गर्ने गरी तयारी भइरहेको जनाइएको छ।
शाहले प्रधानमन्त्रीमा शपथ लिँदा वैदिक–सनातन परम्परा झल्किने गरी १०८ जना बटुकद्वारा स्वस्ति–शान्ति वाचन तथा १६ जना बौद्ध भिक्षुले मङ्गल पाठ गर्ने र सात वटा शङ्खबाट शङ्खनाद गरिने तयारी गरिएको छ। आगामी सरकारको प्रमुख ध्यान मुलुकमा सुशासन कायम गर्ने रहेको जनाउँदै रास्वपाले मन्त्री चयन गर्दा विषय विज्ञता र अनुभवका आधारमा गर्ने जनाएको छ। सरकार गठनसँगै प्रतिनिधि सभाको सभामुख, प्रमुख सचेतकलगायत चयन गर्नेबारे पनि छलफल भइरहेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु