धनगढी उपमहानगरमा खोजीखोजी अपाङ्गता सहायक सामग्री वितरण गरिदै

छिनोफानो   आइतबार १५, चैत २०८२ ०८:५७

धनगढीः धनगढी उपमहानगरपालिकाले २०७९ देखि अपाङ्गता भएका व्यक्तिलाई खोजीखोजी निःशुल्क सहायक सामग्री वितरण गर्दै आएको छ।
उपमहानगरले अपाङ्गताको किसिमअनुसार व्यक्तिलाई आवश्यक पर्ने व्हिल चेयर, वाकर, कृत्रिम हातखुट्टा, बैसाखी, सेतो छडी, सिपी चेयर, क्रचेज, ट्राइसाइकल र कमोड चेयर प्रदान गर्दै आएको हो।
अपाङ्गता भएका नागरिकले सम्मानपूर्ण जीवनको प्रत्याभूति गर्दै उनीहरूको सहज पहुँचको लागि निःशुल्क सहायक सामग्री उपलब्ध गराउने नीति ल्याइएको उपमहानगरले जनाएको छ।
अपाङ्गता सहायक सामग्री आवश्यक पर्ने व्यक्तिको पहिचान गर्न हरेक वर्ष पालिकाको पाँच क्लस्टरमा स्क्रिनिङ्ग शिविर सञ्चालन गर्दै आएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए। उनले अपाङ्गता भएका व्यक्तिको क्लस्टरवाइज स्क्रिनिङ्ग गरेपछि सोही स्थानमै पुगेर सहायक सामग्री वितरण गर्दै आएको बताए।

धनगढीले चार वर्षमा ४९४ जना अपाङ्गता भएका नागरिकलाई विभिन्न २० प्रकारका ५३८ वटा सहायक सामग्री वितरण गरेको तथ्याङ्क सार्वजनिक गरेको छ।
उपमहानगरले आर्थिक वर्ष २०७९/८० मा १८९ जनालाई २०५ सहायक सामग्री, आर्थिक वर्ष २०८०/८१ मा १९६ जनालाई २१७ सामग्री, आर्थिक वर्ष २०८१/८२ मा १०९ जनालाई ११६ सहायक सामग्री तथा आर्थिक वर्ष २०८२/८३ मा २५७ जनालाई स्क्रिनिङ्ग गरेर ३१८ सहायक सामग्री वितरण गरेको छ।
कुन क्लस्टरमा कतिले पाए सेवा?
उपमहानगरपालिकाले सिङ्गो पालिकालाई पाँच क्लस्टरमा विभाजन गरेर अपाङ्गता सहायक सामग्री वितरण गर्दै आएको छ। जसअनुसार चार वर्षमा फूलबारी क्षेत्रमा १२८ जनालाई १३९ सहायक सामग्री प्रदान गरिएको छ।
यस्तै, उर्मा क्लस्टरमा ११८ जनालाई १२५ वटा सहायक सामग्री, जुगेडा क्लस्टरमा ९० जनालाई ९५ सहायक सामग्री, बेला क्लस्टरमा ६२ जनालाई ६६ सामग्री तथा धनगढी क्लस्टरमा ९६ जनालाई ११३ सहायक सामग्री निःशुल्क वितरण गरिएको छ।
उपमहानगरले चार वर्षमा १४६ व्हिल चेयर, ४५ वटा ट्राइसाइकल, २० वटा वाकर, १६ वटा कृत्रिम हातखुट्टा, १०१ वटा वाकिङ स्टिक, ५८ वटा क्रचेज र एक सिपी चेयर उपलब्ध गराएको छ।

धनगढी उपमहानगरपालिकाले हालसम्म ६५ लाख १६ हजार चार सय रुपैयाँको अपाङ्गता सहायक सामग्री वितरण गरेको छ। चालु आर्थिक वर्षमा १८ लाख बराबरको अपाङ्गता सहायक सामग्री वितरण गर्न खरिद प्रक्रिया अगाडि बढेको बताइएको छ।
उपमहानगरपालिकाले नागरिकमुखी काम गर्दै आएको बताउँदै नगर प्रमुख गोपाल हमालले अपाङ्गता भएका व्यक्तिलाई खोजीखोजी सहायक सामग्री प्रदान गर्ने अभियान चलाएको बताए। उनले स्थानीय सरकारले आफ्ना नागरिकलाई सम्मानपूर्ण जिउन सहयोग गर्नुपर्ने बताए। जसअनुसार धनगढी उपमहानगरपालिकाले हरेक वर्ष धनगढीका १९ वटै वडाका अपाङ्गता भएका नागरिकलाई खोज्दै सहायक सामग्री वितरण गर्दै आएको नगर प्रमुख हमालले बताए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु