सरकारले ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा उनीहरूको कैद सजाय मिनाहा गरेकी हुन् ।
सर्वोच्च अदालतको आदेशहरू समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बूसहित २७१ जना र नरबहादुर साँवा समेतका ५४७ गरी कूल ८१८ जना कैदीहरूको बाँकी कैद सजाय मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
‘संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९/२/१० को बैठकको सिफारिसमा मिति २०७९/२/१५ गते देखि लागु हुने गरी गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी मिनाहा भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
यस्तै उमाकान्त पराजुलीसहित १६ जना कैदीलाई माफी दिइएको छ । ‘संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/२/१३ को बैठकको सिफारिसमा उमाकान्त पराजुली समेतका १६ जना कैदीहरूको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी भएको छ’, राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस