निर्वाचन क्षेत्रका जनताको समर्थनले आफूलाई थप उत्साह र ऊर्जा प्राप्त भएको छ : उम्मेदवार  आले

छिनोफानो   बिहिबार ३०, माघ २०८२ ०४:०८

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले आफ्ना निर्वाचन क्षेत्रका जनताको समर्थनले आफूलाई थप उत्साह र ऊर्जा प्राप्त भएको बताएका छन्।

बिहीबार अछामी समुदायद्वारा धनगढीमा आयोजित भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार आलेले प्रचार–प्रसारका क्रममा जनताबाट प्राप्त माया, विश्वास र आशीर्वादले आफ्नो अभियानलाई थप हौसला दिएको बताए। उनले कैलालीमा बसोबास गर्ने अछामी समुदायको योगदान उल्लेखनीय रहेको उल्लेख गर्दै सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा उनीहरूको भूमिका महत्वपूर्ण रहेको बताए।

आलेले रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा, सडक पूर्वाधार विकास तथा सुरक्षित बसोबासका विषयमा आफू पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे।“जहाँ बसे पनि हामी सबै नेपाली हौँ। विकास र अवसरबाट कोही पनि वञ्चित हुनु हुँदैन,” उनले भने। 

अछाम सहित अन्य जिल्लाबाट बसाइँसराइ गरी आफ्नो निर्वाचन क्षेत्रमा स्थायी रूपमा बसोबास गर्दै आएका नागरिकका समस्या, चुनौती र अपेक्षालाई आफूले नजिकबाट बुझेको उल्लेख गर्दै उनले विजयी भए जनताको भावना र सुझावलाई समेटेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।


सबै समुदायको साथ र समर्थनबाट मात्रै समृद्ध कैलाली निर्माण सम्भव हुने उल्लेख गर्दै उनले समावेशी विकासलाई प्राथमिकता दिने बताए।कार्यक्रममा स्थानीय अगुवा, बुद्धिजीवी तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध अछामी समुदायका बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले प्रेमबहादुर आलेको उम्मेदवारीलाई समर्थन जनाउँदै कैलाली–५ क्षेत्रको समग्र विकासका लागि सक्षम र जनउत्तरदायी नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु