काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला तथा र्याली गर्न रोक लगाएको छ ।
पछिल्ला राजनीतिक गतिविधि र प्रदर्शनका सन्दर्भमा शान्ति सुरक्षा अवस्थालाई सुदृढ तुल्याउँदै चुनावका लागि उपयुक्त वातावरण कायम गर्न यस्तो व्यवस्था गरेको प्रशासनले निकालेको सूचनामा उल्लेख छ ।
केही समूह तथा राजनीतिक दलबाट विमानस्थल क्षेत्र र आसपास प्रदर्शन, भेला तथा र्याली गर्ने भनी सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार भएकोप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको सूचनामा भनिएको छ । यस्ता कार्यक्रम गर्नुअघि प्रशासनको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था रहे पनि अहिलेसम्म कसैले अनुमति नलिएको सूचनामा उल्लेख छ ।
विमानस्थल जस्तो अति संवेदनशील ठाउँको सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रशासनले जनाएको छ । साथै, महाशिवरात्रि पर्वको व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान र नागरिकको सहज आवतजावत सुनिश्चित गर्न पनि यस्तो निर्णय आवश्यक रहेको सूचनामा उल्लेख छ ।
प्रशासनले विमानस्थल आसपासका सार्वजनिक सडक तथा क्षेत्रमा यातायात सञ्चालन र नागरिकको आवागमनमा अवरोध पुग्ने गरी कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, हड्ताल, घेराउ वा भेला नगर्न आग्रह गरेको छ ।
साथै, सामाजिक सञ्जालमार्फत यस्ता गतिविधिमा सहभागी हुन प्रेरित गर्ने वा उक्साउने कार्य नगर्नसमेत चेतावनी दिइएको छ । निषेधित तथा संवेदनशील क्षेत्रमा कानुन विपरीतका गतिविधिमा संलग्नलाई कारबाही गर्ने चेतावनी पनि प्रशासनले दिएको छ ।
प्रतिकृया दिनुहोस