धनगढी – नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले फागुन २१ मा तोकिएको निर्वाचन खारेजीको माग गर्दै मंगलबार घोषणा गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिम प्रदेशमा सामान्य देखिएको छ। बन्दको आह्वानसँगै केही शैक्षिक संस्थाले सतर्कताका रूपमा विदा दिएका छन् भने अधिकांश निजी तथा सरकारी कार्यालयहरू नियमित रूपमा सञ्चालनमा रहेका छन्। बजार क्षेत्र पुर्ण रूपमा खुलेका छन् र दैनिक उपभोग्य सामग्रीका पसलहरू सञ्चालनमा छन्।
यातायात क्षेत्रमा बन्दको खासै प्रभाव नपरेको जनाइएको छ। छोटो तथा लामो दूरीका सवारी साधन नियमित रूपमा सञ्चालनमा रहेको प्रदेश प्रहरी कार्यालय धनगढी ले जनाएको छ। कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता पदम बिष्टका अनुसार हालसम्म कुनै अप्रिय घटना घटेको छैन। “कहींकतै समस्या देखिएमा यातायात सञ्चालनमा सहजीकरण गरिरहेका छौँ,” उनले भने, “सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आवश्यक स्थानमा प्रहरी टोली परिचालन गरिएको छ।”
बन्दकर्ताहरूले फागुन २१ को निर्वाचन खारेज गर्न, वैदेशिक उत्पीडन र हस्तक्षेपविरुद्ध संघर्ष गर्न, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न तथा संवैधानिक संयुक्त सरकार गठनको मार्ग अघि बढाउनुपर्ने माग राख्दै बन्दको घोषणा गरेका हुन्। यद्यपि, सुदूरपश्चिमका विभिन्न जिल्लामा सर्वसाधारणको जनजीवन सामान्य देखिएको छ। बजार, बैंक तथा वित्तीय संस्था र सार्वजनिक सेवा प्रदायक कार्यालयहरू अधिकांश स्थानमा सञ्चालनमै रहेका छन्। प्रहरी प्रशासनले शान्ति–सुरक्षा कायम राख्न विशेष निगरानी बढाएको जनाएको छ भने सर्वसाधारणलाई अफवाहमा नलागी संयमित रहन आग्रह गरेको छ।
प्रतिकृया दिनुहोस