प्यूठानको ऐरावती गाउँपालिका-१ दाङवाङमा भरुवा बन्दुकको गोली लागेर एक जनाको ज्यान गएको छ । सिकार खेल्न जंगल गएका ३४ वर्षीय द्रोणबहादुर आलेमगरको आइतवार गोली लागेर मृत्यु भएको हो ।
दोबाटो सामुदायिक वनको डाँडाथरीमा सिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञानबहादुर नेपालीले मृगलाई हानेको गोली आलेमगरको टाउकोमा लागेको प्रहरीले जनाएको छ ।
घटना आइतबार दिउँसो भए पनि प्रहरीलाई राती मात्र खवर आएको प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए । प्रहरीले सिकार खेल्ने क्रममा प्रयोग भएको २ नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको छ । त्यसैगरी बन्दुक हान्ने ज्ञानबहादुर नेपालीसहित १० जनालाई प्रहरीले पक्रेको छ ।
पक्राउ पर्नेमा ओमबहादुर पुन, कृष्णबहादुर पुन मगर, भुपबहादुर पुन मगर, टिकाराम पुन, ड्यामबहादुर पुन, झविन्द्र थापा, विशाल घर्ती, झिमरुक गाउँपालिका ४ बस्ने गुञ्जबहादुर पुन रहेका प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए । उनका अनुसार ४ जना व्यक्ति फरार रहेको र उनीहरुको खोजी भइरहेको छ ।
प्रतिकृया दिनुहोस