जापानका लोकप्रिय नेता शिन्जो आबेको हिजो (शुक्रबार) गोली प्रहारबाट निधन भएको छ । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबे आम नागरिकका बीचमा निकै लोकप्रिय नेता थिए ।दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाएका आबेले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिएका थिए । आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै उनले आफ्नो जिम्मेवारीप्रति इमानदार हुँदै राजीनामा दिएका थिए । राजनीतिमा प्रत्यक्ष भूमिकामा नदेखिने निणर्य गरेका लिवरल डेमोक्रेटिक पार्टीका नेता आबेले आफ्नो पार्टीलाई विजयी गराउन चुनावी सभामा सम्बोधन गरिरहेका बेला जीन्दगीबाटै बिदा लिनु परेको छ ।
भोलि हुने माथिल्लो सदनको चुनावका लागि देशको पश्चिमी क्षेत्रमा पर्ने नारा शहरमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला एक व्यक्तिको गोली प्रहारबाट उनको निधन भएको हो । सन् १९५४ मा जन्मिएका आबेको ६७ वर्षको उमेरमा निधन भएको हो । उनले सेइकेइ विश्वविद्यालयबाट सन् १९७७ मा स्नातक गरेका थिए । त्यसपछि उनले सन् १९७९ मा जापानकै नेतृत्वदायी स्टिल उद्योग ‘कोबे स्टिल’ मा काम गरेका थिए ।
राजनीतिमा भने उनी सन् १९८२ मा तत्कालीन विदेश मन्त्रीको सहयोगी भएर प्रवेश गरेका थिए । उनी सन् १९९३ देखि निरन्तर नौ पटक सांसद भएका थिए । उनले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गरेका थिए भने सरकारी भूमिकामा मन्त्रिपरिषद्को उपप्रमुख, सचिव र प्रमुख सचिव भएर काम गरेका थिए ।
मन्त्रिपरिषदमा भने २००५ मा उनले पहिलो पटक सहभागी हुने मौका पाएका थिए । उनी पहिलो पटक सन् २००६ मा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । त्यतिबेला उनी जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए । अस्वस्थताका कारण त्यो कार्यकाल उनको २००७ सम्म मात्रै रह्यो । आन्द्राको समस्या देखिएपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।
त्यसपछि निको भएर फेरि राजनीतिमा फर्किएका आबे आफ्नो पार्टीलाई अत्यधिक मतका साथ विजयी गराएपछि सन् २०१२ देखि २०२० सम्म निरन्तर जापानको प्रधानमन्त्री बने । उनले पछिल्लो पटक पनि कार्यकाल बाँकी रहेकै बेला अस्वस्थताका कारण सन् २०२० को अगस्ट २४ मा प्रधानमन्त्री पद स्वेच्छाले त्यागेका थिए । आबेले आफ्ना विश्वास पात्र तथा निकटतम सहयोगी योशिहिदे सुगालाई आफ्नो उत्तराधिकारी बनाएका थिए ।
आफ्नो मौलिक आर्थिक रणनीति र कट्टर राष्ट्रवादी नीतिका कारण उनको छुट्टै पहिचान बनेको थियो । कट्टर राष्ट्रवादी धारका कारण उनले चीन र दक्षिण कोरियासँग सुमधुर सम्बन्ध कायम गर्न सकेका थिएनन् ।
राजनीतिक विरासत बोकेको परिवारका सदस्य भइ जनताका बीचमा लोकप्रिय रहेकाले उनलाई ‘जनताका राजकुमार’ को उपमा पनि दिइएको थियो । उनका बुबा शिनतारो आबे जापानको विदेश मन्त्री बनेका थिए भने हजुरबुबा नोबुशुके किशी प्रधानमन्त्री भएका थिए । रासस
प्रतिकृया दिनुहोस