बैतडी । स्थानीय तह र प्रदेश सरकारले ठुलो बजेट खर्च गरेर सिमेन्टका मन्दिर बनाउँदा पुरातात्त्विक सम्पदाका रूपमा रहेका माणौ (माडौँ) को अस्तित्व सङ्कटमा परेको छ ।
यहाँका प्रसिद्ध भगवतीका माणौमध्येको एक डडेलधुरा जिल्लामा रहेको उग्रतारा भगवतीमा सिमेन्ट र कङ्क्रिटको प्रयोग गरेर गरेपछि पुरातत्व विभागले सम्पदा सूचीबाट हटाइसकेको छ । स्थानीय तह र प्रदेश सरकारले भने जिल्ला र गाउँ गाउँमा बजेट खर्च गरेर सम्पदा मास्ने अझै काम रोक्न सकेका छैनन् ।
उग्रताराको कङ्क्रिट हटाई पुरानो स्वरूप दिन पुरातìव विभागले आर्थिक वर्ष २०७९/८० मा एक करोड ६२ लाख रुपियाँ विनियोजन गरेर बोलपत्र आह्वान गर्दा कबोल गर्न कोही आएनन् । बजेट फ्रिज भएपछि उग्रताराले पुनारो स्वरूपमा पाउन सकेको छैन ।
स्थानीय कालिगडले ढुङ्गा र काठको प्रयोग गरेर निर्माण गरेको उग्रतारालाई पुरातत्व विभागले विसं २०४१ सालमा सम्पदा सूचीमा सूचीकृत गरेको थियो । उग्रताराको तस्बिर अङ्कित हुलाक टिकटसमेत जारी भएको थियो । स्थानीयले विभागलाई कुनै जानकारी नगराई माणौमा कङ्क्रिटको प्रयोग गरेपछि विभागले विसं २०५४ सालमा सम्पदा सूचीबाट हटाएको हो ।
यो विषयलाई सुदूरपश्चि प्रदेश सरकारले गम्भीर रूपमा लिएको देखिएन । बरु यस्तै त्रुटि दोहोर्याएर विभिन्न जिल्लामा माणौको स्वरूप बिगार्न बजेट विनियोजित गर्दै आएको छ । पर्यटन शीर्षक अन्तर्गत पाँच वर्षमा प्रदेशका नौ जिल्लामा ८१३ वटा मन्दिर निर्माण भएका छन् । यी योजना निर्माण गर्दा सम्बन्धित कार्यालयका इन्जिनियरले पुराना कालिगडलाई खबर नै नगरेको ९० वर्षीय कालिगड अन्तराम वडले बताउनुभयो ।
माणौमा काठको खोल्देली, स्लेट वा ताम्रपत्रको छानो, कटुवा ढुङ्गा (वास्तु) को प्रयोग र काठको कालो खाम हुने गरेको उहाँले बताउनुभयो । पछिल्लो समय माणौ मासेर सिमेन्टका मन्दिर निर्माण गरी कालो खामको बदलामा सिमेन्टकै गेट बन्न थालेको गुनासो गर्नुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारले मात्रै बितेका पाँच वर्षमा मन्दिर निर्माण गर्न एक अर्ब पाँच करोड २१ लाख रुपियाँ खर्च गरेको प्रदेश सरकारको तथ्याङ्कमा छ । सो रकममध्ये ८२ करोड खर्च भइसकेको छ । चालु आव २०८१/८२ मा थप २३ करोड २१ लाख रुपियाँ खर्च गर्ने लक्ष्य राखिएको छ ।
बैतडीमा मात्रै डिभिजन वन कार्यालयमार्फत जिल्लाभर ५९ वटा सिमेन्टका मन्दिर बनाइएको छ । पर्यटन प्रवर्धन शीर्षकका सिमेन्टका संरचनामा १० करोड ५७ लाख रुपियाँ खर्च भएको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्कमा उल्लेख छ । स्थानीय र प्रदेश सरकारले पर्यटक घुमाउने नाममा माणौको मौलिकता मासेर सिमेन्ट र कङ्क्रिट प्रयोग गरी बजेट सक्ने काम गरेको नेपाल टुर एन्ड ट्राभल एसोसिएसन धनगढीका अध्यक्ष मायाप्रकाश भट्टले गुनासो गर्नुभयो । सिमेन्टको प्रयोगले सुदूरपश्चिमका माणौको मौलिकता समाप्त हुने अवस्था देखिएको पुरातात्त्विक विभागका अधिकृत राजेश परियारले बताउनुभयो ।
उहाँले प्रसिद्ध वनारसीधाममा सिमेन्टको प्रयोग नगर्न सुझाव दिएर फर्केको बताउनुभयो । प्रदेश र स्थानीय सरकारले पनि पुरातात्त्विक सम्पदाको ख्याल गर्नुपर्ने उहाँको भनाइ छ । स्थानीय र प्रदेश सरकारमातहत विभिन्न शाखा, उपशाखा भए पनि पुरातत्वसम्बन्धी विषय हेर्ने शाखा स्थापना हुन सकेका छैनन् ।
प्रतिकृया दिनुहोस