धौलीगाड पुलको निर्माण कार्य अलपत्र, एघार वर्षमा एउटा पिल्लर

छिनोफानो   बुधबार १३, कार्तिक २०८२ १०:४२

दार्चुला  । महाकाली लोकमार्ग अन्तर्गत दार्चुलाको गोकुलेश्वर–खलङ्गा सडकखण्डको धौलीगाड खोलामा ११ वर्षअघि सम्झौता भएको पुल निर्माण कार्य अलपत्र परेको छ । 

दार्चुला सदरमुकाम खलङ्गा जोड्ने यो पुल निर्माणका लागि सडक डिभिजन कार्यालय पाटन बैतडीले २०७१ असार ३० गते आशिष कन्स्ट्रक्सन धनगढीसँग दुई करोड ३२ लाख ५६ हजार रुपियाँ लागतमा पुलको ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले पुल निर्माण सुरु गरी एकापट्टि पिलर गाडेपछि मुआब्जाको विवाद सुरु भएको थियो । २०८० मा विवाद समाधान भए पनि पुल निर्माणको काम अघि बढ्न सकेको छैन ।  

एक दशक पहिलेको दररेटमा आफूले काम गर्न नसक्ने भन्दै ठेकेदारले क्षतिपूर्तिको मागसहित २०८१ मा अदालतमा मुद्दा दायर गरेपछि निर्माण कार्य रोकिएको सडक डिभिजन कार्यालय बैतडीका सूचना अधिकारी इन्जिनियर लीलाधर भट्टले बताउनुभयो ।

सरकारको कारण १० वर्ष ढिला भएकाले क्षतिपूर्ति वा क्राइसिस जजमेन्ट पाउनुपर्ने माग दाबीसहित ठकठेदारले मुद्दा दायर गरेको हो, ठेक्कामा क्राइसिस जजमेन्टको प्रावधान थिएन, उहाँले भन्नुभयो, “अदालतले क्राइसिस जजमेन्ट राख्ने आदेश दिए काम सुरु हुन्छ, नभए ठेक्का तोडेर नयाँ प्रक्रियामा गएर पुल निर्माण गरिने छ ।” 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले आफू जिम्मेवारीमा आएपछि यो विषयमा थप छलफल गर्न नपाएको बताउनुभयो । अहिले यो क्षेत्रमा पक्की पुल नहुँदा खोलाबाटै सवारीसाधन आवतजावत गर्छन् । सदरमुकाम जोड्ने खोलाको पुल निर्माणमा ढिलाइ हुँदा यातायात व्यवसायी र सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।    

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु