कञ्चनपुर।कञ्चनपुरका विपिन जोशीको अन्त्येष्टि आज राष्ट्रिय सम्मानका साथ महाकाली नदी किनारस्थित भुजेलाघाटमा गरिँदै छ।भीमदत्त नगरपालिकास्थित उनको निवासबाट केहीबेरअघि शवयात्रा सुरू भएको हो।
शवयात्रामा स्थानीयवासी, परिवारजन, जनप्रतिनिधि, सुरक्षाकर्मीहरूसँगै नेपालका लागि इजरायली राजदूत पनि सहभागी छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराका अनुसार जोशीको अन्त्येष्टि धार्मिक परम्पराअनुसार राष्ट्रिय सम्मानका साथ हुनेछ, जसअन्तर्गत सशस्त्र प्रहरीले सलामी अर्पण गर्नेछ।
विपिन जोशी अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए। सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी बन्धक बनाइएका थिए।
लामो समयसम्म उनी बेपत्ता रहँदा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए।
प्रतिकृया दिनुहोस