कैलालीका स्थानिय तहको कार्यसम्पादन मुल्याकंन- गोदावरी प्रथम बन्दा कैलारी पुछारमा

छिनोफानो   आइतबार ०३, फागुन २०८२ ११:३७

धनगढी: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा कैलाली जिल्लाका स्थानीय तहहरूमध्ये गोदावरी नगरपालिका पहिलो स्थानमा परेको छ भने कैलारी गाउँपालिका पुछारमा रहेको छ। धनगढीमा बिहीबार सार्वजनिक गरिएको मूल्यांकन प्रतिवेदनअनुसार जिल्लाका १३ स्थानीय तहको १७ वटा सूचकका आधारमा कार्यसम्पादन मूल्यांकन गरिएको थियो। ती सबै सूचकको समग्र अंकका आधारमा गोदावरी नगरपालिकाले ६३.३३ अंक प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेको हो।

आयोगका अनुसार वित्तीय अनुशासन, योजना कार्यान्वयनको अवस्था, पारदर्शिता, राजस्व संकलन, सेवा प्रवाह, सामाजिक विकास, पूर्वाधार निर्माणलगायतका विभिन्न १७ सूचकका आधारमा देशभरका स्थानीय तहको मूल्यांकन गरिएको हो। सोही आधारमा अंक प्रदान गर्दा कैलालीमा गोदावरी अग्रस्थानमा रहन सफल भएको जनाएको छ। जिल्लामा गोदावरीपछि जानकी गाउँपालिका दोस्रो स्थानमा परेको छ। जानकीले ६२.११ अंक प्राप्त गरेको छ। त्यसैगरी लम्कीचुहा नगरपालिका ५६.८७ अंकसहित तेस्रो स्थानमा छ।

त्यसपछि धनगढी उपमहानगरपालिका ले ५६.६० अंक प्राप्त गरेको छ भने गौरीगंगा नगरपालिका ले ५६.२६ अंक हासिल गरेको छ। मोहन्याल गाउँपालिका ५४.५५ अंकसहित मध्यम प्रदर्शन गर्ने स्थानीय तहको रूपमा देखिएको छ। त्यसैगरी बर्दगोरिया गाउँपालिका ले ५२.७२, चुरे गाउँपालिका ले ५१.९४, घोडाघोडी नगरपालिका ले ५१.७३, भजनी नगरपालिका ले ५०.१४, जोशीपुर गाउँपालिका ले ४९.५० र टीकापुर नगरपालिका ले ४६.७० अंक प्राप्त गरेका छन्।

सबैभन्दा कम अंक प्राप्त गर्ने स्थानीय तहका रूपमा कैलारी गाउँपालिकाले ४४.१९ अंक हासिल गरेको छ। आयोगको मूल्यांकनले स्थानीय तहहरूबीच सेवा प्रवाह र विकास व्यवस्थापनमा देखिएको अन्तरलाई उजागर गरेको छ। आयोगले देशभरका स्थानीय तहहरूको कार्यसम्पादनको वस्तुगत मूल्यांकन गरी नतिजा सार्वजनिक गरेको जनाएको छ। यस मूल्यांकनलाई स्थानीय तहहरूको कार्यक्षमता अभिवृद्धि, सुशासन प्रवर्द्धन तथा प्रतिस्पर्धात्मक विकासको आधारका रूपमा लिइने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु