कैलाली–कञ्चनपुरमा लागूऔषधसहित ६ जना पक्राउ, खैरो हेरोइन र चरेस बरामद

छिनोफानो   शनिबार ३०, फागुन २०८२ ०२:२५

धनगढी। सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ तथा चरेस बरामद गरेको जनाएको छ।

कैलालीको टीकापुर नगरपालिका–६ भरतापुरबाट ९९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित २६ वर्षीय बादल चौधरी पक्राउ परेका छन्। शुक्रबार साँझ संकास्पद रुपमा पैदल हिँडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्कबाट ६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ३६ वर्षीय मानबिर विश्वकर्मा पक्राउ परेका छन्। झापाको अर्जुनधारा नगरपालिका–९ घर भएका विश्वकर्मा हाल भीमदत्त नगरपालिका–८ तिलाचौरस्थित सुन–चाँदी पसलमा कालिगडको काम गर्दै आएका थिए। अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनको साथबाट उक्त पदार्थ बरामद गरेको हो।

यसैगरी भीमदत्त नगरपालिका–४ गल्ली नम्बर ४ मा सञ्चालन भइरहेको ‘बादशाह क्याफे’बाट २ ग्राम ५१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र २ ग्राम ५१० मिलिग्राम चरेस जस्तो देखिने कालो पदार्थ बरामद भएको छ। उक्त क्याफे सञ्चालन गर्दै आएकी बैतडी सुर्नया गाउँपालिका–१ घर भएकी २७ वर्षीया कुमारी लक्ष्मी चन्द र सोही ठाउँ बस्ने २६ वर्षीया लक्ष्मी सोनाहालाई प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले खानतलासी गर्दा उक्त पदार्थ फेला पारेको हो।

त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाट पिपलचौताराबाट पनि दुई जना लागूऔषधसहित पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बस्ने २९ वर्षीय अमित सिंह र दार्चुलाको लेकम गाउँपालिका–२ घर भएका २० वर्षीय गोकुलदेव जोशीलाई २ ग्राम २७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा म १ प १६०८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा लागूऔषध फेला पारेको हो।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु