सुदूरपश्चिम महोत्सवबाट कैलाली उद्योग वाणिज्य संघलाई ८३ लाख नाफा

छिनोफानो   मङ्गलबार ०३, चैत २०८२ ०८:३१

धनगढीः सुदूरपश्चिम महोत्सवबाट कैलाली उद्योग वाणिज्य संघले झन्डै ८३ लाख नाफा गरेको छ। गत मंसिरमा आयोजना गरिएको महोत्सवबाट कैलाली उद्योग वाणिज्य संघले ८२ लाख ९३ हजार चार सय ७१ रुपैयाँ कुल बचत गरेको हो।

धनगढीमा मङ्गलवार पत्रकार सम्मेलन गर्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले तीन करोड ३३ लाख ७६ हजार तीन सय ६७ रुपैयाँ आम्दानी भएको बताए। महोत्सवमा दुई करोड ६३ लाख एक हजार सात सय ४० रुपैयाँ खर्च भएको छ। संघले सङ्घीय सरकार र स्थानीय सरकारलाई ६० लाख ५४ हजार तीन सय ३५ रुपैयाँ कर भुक्तानीसमेत गरेको उनले बताए। सबै खर्चपछि ८२ लाख ९२ हजार ४७१ रुपैयाँ बचत भएको उनले बताएका छन्।

आन्तरिक राजस्व कार्यालयमा २७ लाख ६४ हजार १५७, मूल्य अभिवृद्धि कर १३ लाख १८ हजार ९१२ रुपैयाँ र अग्रिम आयकर १० लाख ६७ हजार ७७९ रुपैयाँ आन्तरिक राजस्व कार्यालयमा दाखिला गरेको उनले बताए।

यस्तै, धनगढी उपमहानगरपालिकालाई बहाल तथा मनोरञ्जन करमा चार लाख १६ हजार ४८७ रुपैयाँ, महोत्सव सञ्चालन अनुमति शुल्क बाफत २५ हजार रुपैयाँ र रमाइलो मेला तथा बाल उद्यानद्वारा एक लाख ६० हजार कर बुझाइएको विवरण सार्वजनिक गरिएको छ। उपमहानगरमा दर्ता नभएका व्यवसायी स्वयँले थप तीन लाख कर उपमहानगरलाई बुझाएको अध्यक्ष ओझाले बताए। यसमध्ये नयाँ भवन निर्माणका लागि ४५ लाख रुपैयाँ भुक्तानी गरिएको छ। उद्योग वाणिज्य संघसँग अब २४ लाख ७३ हजार ५५९ रुपैयाँ मात्र बाँकी रहेको छ।

सुदूरपश्चिम महोत्सवलाई केवल व्यापारिक मेला नभई सुदूरपश्चिमको पहिचान, सम्भावना र संस्कृतिको प्रवर्धन गर्ने साझा मञ्चका रूपमा विकास गरिएको ओझाले बताए।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न महोत्सवले आर्थिक, सांस्कृतिक तथा सामाजिक रूपमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरिएको छ। महोत्सव अवधिभर २ हजारभन्दा बढी स्थानीयले प्रत्यक्ष रोजगारी पाएको तथा स्थानीय कलाकारहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाएको अध्यक्ष ओझाले बताए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु