कञ्चनपुर: शुक्रबार राति — कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाट क्षेत्रबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पहिलो घटनामा, भारतबाट नेपालतर्फ आउँदै गरेको से ७ प २०९९ नम्बरको मोटरसाइकलमा सवार २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा डडेलधुराको अमरगढी नगरपालिका–१ का २५ वर्षीय यादब तमौली र सोही नगरपालिका–५ का १८ वर्षीय एक किशोर रहेका छन्। इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको संयुक्त टोलीले शंका लागेपछि चेकजाँच गर्दा उनीहरूको साथबाट १४ ग्राम ७२० मिलिग्राम खैरो हिरोइन जस्तो पदार्थ बरामद गरेको जनाएको छ।
त्यसैगरी, सोही स्थानबाट अर्को कारबाहीमा प्रहरीले १५ ग्राम १६० मिलिग्राम खैरो हिरोइन जस्तो पदार्थसहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का २६ वर्षीय हिक्मत बोहरा, कृष्णपुर नगरपालिका–५ का २४ वर्षीय दिपेन्द्र बिष्ट, कैलालीको गोदावरी नगरपालिका–३ का २७ वर्षीय सुरेन्द्र साँउद (चालक) र दार्चुलाको शैल्यशिखर नगरपालिका–६ का २८ वर्षीय जनक सिंह धामी रहेका छन्।
प्रहरीका अनुसार, सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको विद्युतीय हाइसमा सवार उनीहरूलाई शंका लागेर जाँच गर्दा लागूऔषध फेला परेको हो। बरामद लागूऔषध र सवारी साधनसहित सबैलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस