छयासी प्रतिशत शिक्षकले प्रयोगमा ल्याउँदैनन् प्रविधि

छिनोफानो   शनिबार २७, पुष २०८१ १२:५०

बैतडी । सरकारले सामुदायिक विद्यालयमा सुविधा थपे पनि शैक्षिक गुणस्तरमा सुधार नदेखिएको पाइएको छ । सरकारले विद्यालयमा निःशुल्क पाठ्यपुस्तक, स्मार्ट बोर्ड, आइसिटी कक्षा, विज्ञान प्रयोगशाला, पुस्तकालय, दिवा खाजा, विभिन्न छात्रवृत्तिलगायत विविध सुविधा उपलब्ध गराएको हुन्छ तर शैक्षिक गुणस्तर भने कमजोर देखिएको छ । 

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले दशरथ चन्द नगरपालिकाका १९ वटा माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गरेर बिहीबार नगरपालिकालाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अनुसार दशरथ चन्द नगरपालिकाका ८६ प्रतिशत शिक्षकले आइसिटीको प्रयोग नगरी तथा पाठ योजनासमेत नबनाई किताबका भरमा विद्यार्थीलाई ‘पढ पढ’ मात्रै भन्ने गरेका पाइएको छ ।  

शैक्षिक गुणस्तर परीक्षण केन्द्रका विज्ञले माध्यमिक शिक्षा परीक्षा (एसइई) मासहभागी हुँदै आएका विद्यालयको एक महिना लामो अध्ययन, निरीक्षण र परीक्षणका क्रममा दशरथ चन्द नगरपालिकाका सामुदायिक विद्यालयमा पढाउने ८६ प्रतिशत शिक्षकले प्रविधिको प्रयोग नगरी परम्परागत शैलीमै पठनपाठन गरिरहेको प्रतिवेदनमा उल्लेख छ । 

शैक्षिक गुणस्तर परीक्षणमा खटिएका नीलकण्ठ रेग्मीले एसइई दिने एउटा समुदायिक विद्यालयमा राज्यले वार्षिक दुई करोड रुपियाँभन्दा बढी लगानी गरे पनि त्यस अनुसार उपलब्धि नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षकले लगानीको वास्ता गरेको पाइएन । ८६.३९ प्रतिशत शिक्षकले पाठ योजनाबिनै कक्षामा छिरेर विद्यार्थीलाई ‘पढ पढ’ मात्रै भन्ने गरेका देखियो ।  त्यस्ता शिक्षकले विद्यार्थीलाई प्रोत्साहन पनि दिने गरेका छैनन् । एउटा कुनामा विद्यार्थी उभिएको छ, शिक्षक अर्को कुनामा गएर अर्कै विषयमा कुरा गरिरहेको छ । दशरथ चन्दका ५४ प्रतिशत शिक्षकले त विद्यार्थीलाई प्रोत्साहनका लागि धन्यवादसम्म दिने गरेका छैनन् ।” 

नगरपालिकाले सबै माविलाई सूचना प्रविधि, विज्ञान प्रयोगशाला, पुस्तकालय जस्ता सुविधा उपलब्ध गराएको दशरथ चन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशचन्द्र भट्टले बताउनुभयो । उहाँले शिक्षकलाई प्रविधिमैत्री बन्न ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । बिहीबार मात्रै दशरथ चन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खा भाइ) ले वीरेन्द्र मावि, निङ्गलासैनी माविलगायत छ वटा माविलाई ल्यापटप र प्रोजेक्टर हस्तान्तर गर्नुभयो । 

नगरप्रमुख जोशीले पालिकाको कुल ८२ करोड रुपियाँ वार्षिक बजेटमध्ये शिक्षा क्षेत्रमा ३४ करोड रुपियाँ खर्च भइरहेको बताउनुभयो । शैक्षिक गुणस्तर परीक्षणका क्रममा विद्यालयको नतिजा कमजोर देख्दा चिन्तित बनाएको नगरप्रमुख जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुविधा गइरहेको छ । नतिजा किन यस्तो कमजोर भइरहेको छ ? हामी चिन्तित भएका छौँ । अब यही अवस्था रहन्न । केही गर्छौं । शिक्षकहरूले पनि अब गम्भीर बन्न जरुरी छ ।”  

दशरथ चन्द नगरपालिकाले विद्यालयलाई प्रविधिमैत्री बनाउन हरेक वर्ष करोडौँ रुपियाँ खर्च गरेर उपकरण वितरण गरेको बताए पनि दशरथ चन्द नगरपालिकाका ४.५४ प्रतिशत विद्यालयले मात्रै आइसिटीको प्रयोग गर्दै आइरहेका शैक्षिक गुणस्तर परीक्षणमा खटिएका विज्ञ कृष्णप्रसाद सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “आजको दुनियाँमा ९५ प्रतिशत आइसिटी कक्षा हुनुपर्ने हो तर प्रविधि थन्क्याएर राखेका छन् । दैनिक पाठयोजना बनाएर पढाउने शिक्षकको सङ्ख्या जम्मा १३ प्रतिशत छ । यस्तो भएपछि एसइईको नतिजा कसरी राम्रो आउँछ ? लाखौँका कम्प्युटर, स्मार्ट बोर्ड धुलोले छोपिएका छन् । फर्निचर हुँदाहुँदै विद्यार्थीलाई चौरमा राखेर घुँडामा कापी राख्न लगाई परीक्षामा सहभागी गराइएको छ ।”

दशरथ चन्दका विद्यालयको शैक्षिक गुणस्तर लगानी अनुसार निकै कमजोर देखिएको अर्का विज्ञ यमनारयण घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यले प्रविधिमैत्री कक्षाकोठाका लागि लाखौँ रुपियाँ लगानी गरेको छ । त्यसको उपयोग भएको छैन । दशरथ चन्दका विद्यालयमा सूचना प्रविधि थन्क्याएर चक डस्टरका भरमा अध्यापन गराउने शिक्षक ६८.१८ प्रतिशत छन् ।” उहाँले दशरथ चन्द नगरपालिकाका माध्यमिक विद्यालयका विभिन्न कोणबाट एक महिनासम्म स्थलगत अध्ययन गरेकाले त्यसको प्रतिवेदन यही पुस २५ गते नगरपालिकालाई बुझाएको बताउनुभयो । प्रतिवेदन बुझ्दै दशरथ चन्द नगरपालिकाका नगरप्रमुख पुष्करराज जोशी (लख्खा भाइ) ले यो प्रतिवेदनको अध्ययन गरेर विद्यालयलाई तुरुन्त पत्राचार गरिने बताउनुभयो ।  

दशरथ चन्द नगरपालिकाका १९ वटा माविले ४९ देखि ६७ प्रतिशत अङ्क प्राप्त गरेर सामान्यस्तरमा देखिएका छन् । शैक्षिक गुणस्तरको मापदण्ड अनुसार दशरथ चन्दका कुनै पनि विद्यालयले राम्रो र मध्यमस्तरसम्म अङ्क ल्याउन सकेनन् । मापदण्ड अनुसार ९० प्रतिशत अङ्क ल्याउने उत्तम, ७० देखि ९० सम्म मध्यमस्तर मानिन्छ । दशरथ चन्दका कुनै पनि माविले ७० अङ्क ल्याउन सकेका छैनन् । 

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गत मङ्सिर २६ बाट एसइई परीक्षामा सहभागी हुँदै आएका बैतडीका १२९ वटा माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षण सुरु गरेको छ । गुणस्तर परीक्षणका लागि २१ विज्ञ खटिएका छन् । विज्ञ टोलीले विद्यालयको भौतिक संरचना, लगानी र शैक्षिक उपलब्धिका बारेमा शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिसँग भेट गरेर अङ्कभार दिएका छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०७३ सालदेखि देशभरिका माध्यमिक विद्यालयको गुणस्तर परीक्षण गर्दै बैतडी अन्तिम जिल्लाका रूपमा परीक्षणको काम सम्पन्न गर्दै छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु