पर्यटकीय स्थल बनाउन संरचना थपिँदै

छिनोफानो   बिहिबार २२, फागुन २०८१ १०:५०

धनगढी । कैलालीको ओजुवा तालपरिसरमा डेढ करोड रुपियाँ लगानीमा भौतिक संरचना निर्माण गरिँदै छ ।   टीकापुर नगरपालिका–७ स्थित सो ताल क्षेत्रको सौन्दर्यीकरण गरी पर्यटन विकास गर्ने उद्देश्यले सङ्घीय सरकार र टीकापुर नगरपालिकाको साझेदारीमा भौतिक संरचना निर्माण गर्न लागिएको हो । सो क्षेत्र डल्फिनसहित विभिन्न जलचर र जलपन्छी अवलोकनका लागि चर्चित छ । त्यस क्षेत्रमा बर्सेनि आन्तरिक तथा बाह्य पर्यटक डल्फिन अवलोकनका लागि पुग्ने गरेका छन् । 

ताल क्षेत्रको सौन्दर्यीकरण गरेर पर्यटन विकास गर्न विभिन्न संरचना निर्माणको काम भइरहेको वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “१२ बिघामा फैलिएको यो ताल यहाँको पुरानो र ऐतिहासिक ताल हो । यस तालपरिसरको सौन्दर्यीकरण गरी पर्यटन विकासका लागि काम भइरहेको छ ।”

तालपरिसरमा २०५ मिटर पर्खाल निर्माणको काम पूरा भएको छ । यसै गरी तालमा पानी आपूर्तिका लागि दुई वटा बोरिङ निर्माण गरिएको छ । आगन्तुक बस्नका लागि बेन्च राख्ने, टहरा बनाउने कार्य भइरहेको छ । त्यस्तै बिजुली जडान, बाटोमा ग्राभेलको काम पनि भइरहेको अध्यक्ष न्यौपानेले बताउनुभयो । उहाँले निकट भविष्यमा ताल क्षेत्रमा बोटिङ सञ्चालन हुने उल्लेख गर्नुभयो । 

तालपरिसर सौन्दर्यीकरणका लागि सङ्घीय सरकारले समपूरक अनुदान अन्तर्गत ८० लाख र टीकापुर नगरपालिकाले ८० लाख रुपियाँ बजेट विनियोजन गरेको जनाएको छ । क्रमागत योजना अन्तर्गत सौन्दर्यीकरणको काम अगाडि बढाइएको उल्लेख गर्दै थप संरचना निर्माणका लागि प्रदेश सरकारसँग पनि बजेट माग गरिएको वडाध्यक्ष न्यौपानेले बताउनुभयो । 

टीकापुरकै साउद बिल्डर्सले ठेक्का पाएर संरचना निर्माणको काम गरिरहेको छ । डल्फिन संरक्षण क्षेत्रमा रहेको ओजुवा तालको सौन्दर्यीकरणले पर्यटन विकासमा टेवा पुग्ने डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु