संसारकै उच्च प्रतिव्यक्ति आय भएको पूँजीवादी देश आयरल्याण्डमा एक वर्ष बिताउने क्रममा त्यहाँका प्रधानमन्त्री थिए( बर्टी अहर्न । पूँजीवादी देश आयरल्याण्ड जहाँ व्यक्तिगत जीवन र सम्पत्तिलाई निजी मामिला मानिन्छ । यसमा राज्यको हस्तक्षेप हुन नहुने वकालत गर्ने व्यवस्था भएको देशमा सार्वजनिक जीवनयापन गर्ने व्यक्तिको प्रायः सबै पक्ष धेरै व्यक्तिगत नहुने मैले महसुस गरें ।
प्रधानमन्त्रीका दुइटी छोरीमध्ये एउटी छोरीको विवाहको समाचार त्यहाँका सञ्चारमाध्यमहरूले बडो जोडतोडका साथ बाहिर ल्याए । सो विवाह कोसँग र कसरी हुँदैछ भन्ने विषय त्यहाँ एउटा ठूलो सार्वजनिक चासोको विषय थियो । जुन जति सार्वजनिक चासोको विषय हुन्छ त्यो त्यत्ति नै सञ्चार जगतको लागि पनि चासो नहुने कुरै भएन । त्यसैले त पापराजी जस्तो पत्रकारिताले राजकुमारी डायनाको ज्यानै गयो ।
बर्टी अहर्न आइरिस जनताका लागि एउटा राजनीतिज्ञ मात्र थिएनन्, उनी एउटा सेलिब्रिटी पनि थिए । अतः अहर्नको पारिवारका सदस्यहरूले पनि के गर्छन् भन्ने चासो आम जनतालाई थियो । त्यस्तोमा उनकी छोरीको बिहेको चर्चा नहुने कुरै भएन ।
बेल्जियमको कुनै भव्य चर्चमा छोरीको बिहे हुने समाचार थियो र अर्को समाचार पनि थियो सम्पूर्ण बिहे अवधिको फोटोग्राफी राइट्स त्यहाँको प्रसिद्ध पत्रिकाले मिलियन युरोमै किनेको थियो । अर्थात् सो विवाहको सम्पूर्ण फोटोहरू सार्वजनिक गर्ने अधिकार उसले मात्रै पाएको थियो । पछि सो पत्रिकामा विवाहको सबै फोटोहरू भव्य रूपमा बाहिर आयो ।
सुन्नमा आए अनुसार सो पत्रिकाले प्रधानमन्त्रीकी छोरीको विवाहको फोटो पत्रिकामा छापेर मनग्य कमाउँछु भनेर ठूलो धनराशि खर्च गरेको थियो । तर, सो अनुरूप पत्रिका बिक्री नभएर घाटामा गयो । जुन कपी राइटका लागि सो पत्रिकाले पैसा तिरेको थियो त्यही पैसाबाट प्रधानमन्त्रीकी छोरीको भव्य विवाहको खर्च मात्र जुटेको थिएन संभवतः नाफा पनि भएको थियो । यो पूँजीवादी संस्कृति भएको देशको कुरा भयो ।
हामीमध्ये धेरैले रणवीर सिंहको ब्याण्डबाजा वारात भन्ने फिल्म हेरेको हुनुपर्छ । सो फिल्मका नायक नायिकाको मुख्य काम भनेको विवाहको इभेन्ट व्यवस्थापन गर्नु हो । उनीहरूले कुनै पार्टीले जति रकम उनीहरूलाई दिन्छन्, त्यसको आधारमा विवाह कार्यक्रमलाई भव्य उत्सव बनाइदिन्छन् ।
अहिले धेरै जसो पूँजीवादी देशहरूमा यस्तो इभेन्ट व्यवस्थापन गर्नु आम व्यवसाय जस्तो भएको छ । नेपालमा यो मामिलामा अछुतो छैन भन्ने लाग्छ, प्रचण्डकी नातिनीको गोकर्ण रिसोर्टमा जुन भव्य बिहे भयो त्यो कुनै फिल्मी शैलीको राम्रो इभेन्ट म्यानेज गर्ने व्यवसायी संस्थाले गरेको देखिन्थ्यो । त्यहाँको सजावट हेर्दा कुनै अम्बानी परिवारको बिहे जस्तो देखिएको टिप्पणी अहिले सामाजिक सञ्जालमा व्याप्त छ ।
अब कुरा गरौं माओको देश चीनको । माओत्सेतुङको पालासम्म चीनको जनजीवन सामान्य थियो र त्यहाँ कुनै तडकभडकको कल्पना गर्न सकिने स्थिति थिएन । खासगरी देङस्याओ पिङको उदयपछि चीनले पूँजीवादी अर्थनीति र कम्युनिस्ट शासन प्रणाली अपनाएको देखिन्छ । पूँजीवादी अर्थनीति भने पछि निजी क्षेत्रको उदय र प्रगति तथा त्यसले अँगाल्ने भड्किलो सांस्कृतिक शैली भइहाल्छ ।
मेरो बेइजिङको छोटो बसाइको क्रममा हामी जुन होटलमा बसेका थियौं त्यहाँ एउटा भव्य विवाहको कार्यक्रमको झल्को देख्न पाइयो । म आफू युरोप र क्यानाडामा बस्दा पनि नदेखेको दृश्य त्यहाँ देखियो । अर्थात क्रिश्चियन परम्परामा सजिएका दुलाहा(दुलही छाना नभएको औडी ब्राण्डको रातो कारमा थिए भने सयौंको संख्यामा पार्टी(शूट तथा उस्तै प्रकारको पहिरनमा सयौंको संख्यामा दुलाहा(दुलही बसेकै जस्तो कारमा जन्तीहरू आएका थिए ।
२०७० को आम निर्वाचनपछि निरन्तर ओरालो लागेको माओवादी पार्टीबारे आम मान्छेको दिमागमा त्यहाँ लाग्ने नेताहरू अर्बपति भएको जस्तो सन्देश पुगेको छ । यही संस्कार तथा प्रवृत्तिले माओवादीलाई कहाँ पुर्याउने हो, त्यो उनीहरूकै समीक्षाको विषय होला
कुनै विवाह समारोहमा कारको लस्कर देख्नु त्यति ठूलो आश्चर्यको विषय नहोला तर त्यहाँ औडी ब्राण्डको महँगो जर्मनी कार त्यो पनि रातो रंगमा त्यतिका धेरै त्यो पनि आफूलाई कम्युनिस्ट भन्ने देशमा देख्नु मेरो लागि बडो आश्चर्यको विषय थियो । र यो पनि स्पष्ट भयो, चीनमा पनि पैसा हुनेले जस्तोसुकै तडकभडक गर्न पनि छुट पाउने रहेछन् ।
प्रचण्ड देशका बहालवाला प्रधानमन्त्री हुन्, उनको निजी जीवन होला र छ, अतः उनको नातिनीको विवाह हुनु एउटा सामान्य घटना होला, तर पूँजीवादी देशमा समेत सार्वजनिक लेखाजोखामा हुने जीवनशैली नेपाल जस्तो एशियाकै गरिब देशमा नहुने कुरा भएन । नेताहरूको विवाह खासगरी कम्युनिस्ट सिद्धान्त अपनाउनेहरूको विवाह उनीहरूले भन्ने गरेको प्रगतिशील शैलीमा भएको हामीले देखेकै हो ।
मलाई सम्झना भएको तत्कालीन अनेरास्ववियुकी नेतृ रामकुमारी झाँक्रीको बिहे एउटा ठूलो राजनैतिक जमघट जस्तो तर प्रगतिशील बिहे भएको थियो । प्रचण्ड र उनको परिवारले कुनै देखालाग्दो व्यापार व्यवसाय नगरिकन पनि अकुत सम्पत्ति कमाएको आरोप उनकै कमरेडहरूले लगाएकै थिए त्यस्तो अवस्थामा जुन तामझामका साथ गोकर्ण रिसोर्टमा नातिनीको बिहे गरेका छन् त्यसले माओवादी जनयुद्धकालमा देखाएको विवाह संस्कृतिको धज्जी उडेको छ ।
त्यही प्रगतिशील, तडकभडक नदेखिने तथा धार्मिक आडम्बर तथा पाखण्डलाई बढावा नदिने शैलीको सांस्कृतिक जगमा नै प्रचण्ड देशको सत्तामा ढलीमली गर्न पुगेको कुरा सर्वविदितै छ, यस्तोमा हात्तीको देखाउने दाँत र चपाउने दाँतको उखानलाई चरितार्थ गरेका छन् ।
अब फेरि चीनकै प्रसंग उठाउँ, आफूलाई माओवादी भन्ने प्रचण्डले चीनकै शासनशैलीलाई आफ्नो आदर्श मानेका हुन्, त्यसैलाई नै उनका लाखौं लडाका तथा कार्यकर्ताहरूले पत्याएका हुन् ।
चीनमा मिडिया अत्यन्त नियन्त्रित छ भन्ने कुरा हामीलाई थाहा छ । अतः कुनै नेताको बदमासी वा जीवनशैली तुरुन्तै बाहिर आउने कुरा भएन, तर कुनै तरिकाले आयो भने उसको जीवनै समाप्त हुने एउटा घटनाको म उल्लेख गर्न चाहन्छु ।
हामी चीन भ्रमणमा रहेको बेलामा एक जना पत्रकारिता मात्रै नगरिकन पत्रकारिता पढाउने मित्र जो चीनमै केही वर्ष बिताएका थिए उनले एउटा रोचक घटना बताएका थिए । चीनका पाँचवटा ठूला शहरहरू मध्येका पार्टीका मेयर वा त्यस्तै उच्चपदस्थ व्यक्ति कुनै एउटा ठूलो होटलमा बसेर अत्यन्त महँगो घडी सहित महँगो सिगार खाएर बसेको तस्वीर कसैले खिचेर त्यहाँको सरकार नियन्त्रित सामाजिक सञ्जालमा हालिदिएछन् । त्यो तस्वीरले उनको जीवनशैली र भ्रष्टाचारमा मुछिएको प्रमाण बयान गरेको थियो । उनलाई तुरुन्तै पक्रेर उनको राजनैतिक जीवन नै समाप्त हुने तरीकाले जेल हालिएको थियो ।
अहिले चीनका ठूला नेताहरूले माओकालीन गलाबन्द भएको शूट लगाउँदैनन्, तर पनि उनीहरू प्रायः सबैको एउटै प्रकारका तथा रंग पनि मिल्ने शूट(टाईमा देखिन्छन् । अहिले आर्थिक समृद्धिमा चीन अमेरिकालाई उछिन्ने अवस्थामा पुगेको छ तर उनीहरू आफ्नो सार्वजनिक जीवनमा अत्यन्तै संयमित र तडक(भडक नदेखाउने व्यवहारमा लागेका छन् ।
उनै मित्रले भने अनुसार त्यहाँ कुनै पनि नेताका परिवारको त्यस्तो तडकभडक गरेको जीवनशैली देख्न पाइँदैन र उनीहरूले बाहिरी रूपमै भए पनि आम जनतालाई आफू राजा(महाराजा भएको जस्तो देखाउँदैनन्, भलै उनीहरूको भित्री व्यक्तिगत जीवन सुखसयल र आरामले भरिएको होस् ।
तर नेपालमा समाजवादी व्यवस्थाको स्वणिर्म सपना बाँडेका तर माओवादीकै पूर्व लडाकुहरू रूस युक्रेन युद्धमा मरिन्छ भन्ने थाहा हुँदाहुँदै पनि जाने स्थितिमा भएको देशमा कसरी यस्तो पूँजीवादीलाई पनि माथ गर्ने सांस्कृतिक जीवनशैलीमा प्रचण्ड र उनको परिवार ढले होलान्, त्यो घोर आश्चर्यको विषय देखिन्छ ।
२०७० को आम निर्वाचनपछि निरन्तर ओरालो लागेको माओवादी पार्टीबारे आम मान्छेको दिमागमा त्यहाँ लाग्ने नेताहरू अर्बपति भएको जस्तो सन्देश पुगेको छ । यही संस्कार तथा प्रवृत्तिले माओवादीलाई कहाँ पुर्याउने हो, त्यो उनीहरूकै समीक्षाको विषय होला ।
अब मिसन(८४ मा प्रचण्डको यस्तो शैलीले पार्टीलाई अझ अधोगतिमा पुर्यायो भने पनि आश्चर्यको विषय नहोला ।
अन्लाईन खबर बाट साभार
प्रतिकृया दिनुहोस