कञ्चनपुर । कञ्चनपुरमा मङ्गलबारदेखि किशोरीहरूलाई एचपिभि खोप लगाइने भएको छ । जिल्लाका नौ वटै पालिकाका १० वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको हो ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले १० वर्ष उमेर समूहका बालिकालाई यो खोप दिइने बताउनुभयो । विशेष गरी, कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्षका किशोरीलाई यो खोप दिइने उहाँको भनाइ छ । यसका साथै, गत वर्ष सञ्चालित एचपिभी खोपको लागि निर्धारण गरिएका लक्षित समूहका किशोरी तथा छात्रामध्ये खोप लगाउन छुटेकालाई पनि यस वर्ष खोप दिइने छ । जसमा हाल कक्षा ७ देखि १० कक्षासम्म अध्ययनरत छात्रा र ११ देखि १४ वर्ष उमेरका किशोरीलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका एचपिभी खोप सम्पर्क व्यक्ति जनक कुँवरका अनुसार, सबैभन्दा बढी भीमदत्त नगरपालिकाका किशोरीहरूलाई सो खोप दिइने छ । उहाँका अनुसार, भीमदत्त नगरपालिका स्थित ९९ विद्यालयका एक हजार ३९० किशोरी, कृष्णपुर नगरपालिका स्थित ४५ विद्यालयका ८४३ जना किशोरी, शुक्लाफाँटा नगरपालिका स्थित ३३ विद्यालयमा अध्ययनरत ५४७ किशोरीहरूलाई एचपिभी खोप लगाइने लक्ष्य निर्धारण गरिएको छ ।
त्यसै गरी, बेदकोट नगरपालिका स्थित ४० विद्यालयका ६०६ किशोरी, दोधारा चाँदनी नगरपालिकाका २९ विद्यालयका ५१० किशोरी, लालझाँडी गाउँपालिका स्थित १८ विद्यालयका २५० किशोरी, पुनर्वास नगरपालिकामा ४५ विद्यालयका ७४३ किशोरी, बेलौरी नगरपालिकामा ३८ विद्यालयका ५६१ जना र बेलडाँडी गाउँपालिकामा १५ विद्यालयका २२८ जना किशोरीहरूलाई एचपिभी खोप लगाउने लक्ष्य निर्धारण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी लेखकका अनुसार, यहाँका ३६२ विद्यालयका कक्षा ६ मा अध्ययनरत ५ हजार ६७८ बालिकालाई पाठेघरको क्यान्सरविरुद्धको खोप दिइने भएको हो । यसका लागि सबै विद्यालयहरूमा स्वास्थ्यकर्मी, स्वयंसेवीकासहितको टोली खटाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार, जिल्लामा ४६५ खोप केन्द्रबाट किशोरीहरूलाई खोप लगाइने भएको छ । सूचना अधिकारी लेखकले ३६२ विद्यालय र १०३ स्वास्थ्य संस्थाहरूमा खोप केन्द्र निर्धारण गरिएको बताउनुभयो ।
नौ वटै पालिकाहरूमा मङ्गलबारदेखि फागुन २ गते सम्म सो खोप लगाइने छ । यस जिल्लामा गत वर्ष २५ हजार ८ किशोरीलाई सो खोप लगाइएको थियो । नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रत्येक दिन औसतमा ४ जनाले अकालमै ज्यान गुमाउनुपरेकाले लक्षित समूहका किशोरीहरूलाई यस खोप अभियानमा सरिक हुन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस