टि–२० विश्वकपः अन्ततः भारतविरूद्ध खेल्न तयार भयो पाकिस्तान

छिनोफानो   मङ्गलबार २८, माघ २०८२ ११:५६

काठमाडौँ । टि–२० विश्वकपमा भारतविरूद्ध खेल्न पाकिस्तान सहमत बनेको छ । पाकिस्तान सरकारले भारतसितको म्याच नखेल्ने भनेर १० दिनअघि लिएको निर्णय बदलेको हो ।

अब पाकिस्तान र भारतको खेल फेब्रुअरी १५ मा कोलम्बो (श्रीलंका) मा निर्धारित समयमै हुनेछ । यो खेललाई विश्वकपको सबैभन्दा ठूलो र कमर्शियल महत्वको खेल मानिन्छ ।

पाकिस्तान सरकारको आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘बहुपक्षीय छलफल र मित्र राष्ट्रहरूको अनुरोधलाई ध्यानमा राखेर पाकिस्तान सरकारले राष्ट्रिय क्रिकेट टिमलाई फेब्रुअरी १५, २०२६ मा आईसीसी मेन्स टी–२० विश्वकपको निर्धारित खेलमा मैदानमा उत्रन निर्देशन दिएको छ । यो निर्णय क्रिकेटको भावना जोगाउन र विश्व खेलको निरन्तरताका लागि लिइएको हो ।’

आईसीसीले पनि विज्ञप्ति जारी गर्दै भनेको छ कि आईसीसी र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बीचको वार्ता सफल भएको छ। सबै सदस्य राष्ट्रहरूले आईसीसी इभेन्टका प्रतिबद्धता सम्मान गर्ने र यो विश्वकपलाई सफल बनाउन सहयोग गर्ने सहमति भएको छ ।

यो विवाद पाकिस्तानले भारतसँग खेल्न नमान्ने घोषणा गरेपछि सुरु भएको थियो । पीसीबी अध्यक्ष मोहसिन नकवीले बंगलादेशलाई विश्वकपबाट हटाइएकोमा आईसीसीको दोहोरो मापदण्ड भएको आरोप लगाएका थिए । तर वार्तापछि बंगलादेशलाई कुनै कारबाही नगर्ने र २०२८–२०३१ चक्रमा थप एक आईसीसी इभेन्ट आयोजना गर्ने अधिकार दिने निर्णय भयो । यसपछि बंगलादेश क्रिकेट बोर्डले पनि पाकिस्तानलाई भारतसँग खेल्न आग्रह गरेको थियो ।

श्रीलंका, यूएई जस्ता देशहरूले पनि पाकिस्तानलाई खेल्न आग्रह गरेका थिए किनकि यो खेल नहुँदा अन्य राष्ट्रहरूलाई आर्थिक नोक्सान पुग्न सक्थ्यो । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले श्रीलंकाका राष्ट्रपति कुमारा दिस्सनायकेसँग पनि कुरा गरेका थिए ।

अब क्रिकेटप्रेमीहरूले फेब्रुअरी १५ मा भारत–पाकिस्तानको रोमाञ्चक भिडन्त हेर्न पाउने भएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु