कञ्चनपुर - कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दाले वर्षाैँदेखि दोदा नदी तर्न काठको फड्के प्रयोग गर्दै आएका छन् । काठकाे फड्केमार्फत् खाेला तरेबापत उनीहरुले शुल्क पनि तिर्छन् । याे नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्न बाध्य छन् ।
शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा राना लालझाडी गाउँपालिका–२ मा रहेकाे सिद्धबैजनाथ माध्यमिक विद्यालयमा पढाउनुहुन्छ । दैनिक दोदा नदी तर्न काठे पुल प्रयोग गर्ने उहाँले त्यसबापत शुल्क तिर्ने गरेको बताउनुभयो । 'वर्षौँदेखि नदी तर्न काठे पुलकै प्रयोग गर्दै आएका छौँ । यो पुल पनि अब जीर्ण बन्दै गएको छ', उहाँले भन्नुभयो, 'बर्खामा ओहोरदोहोर गर्न झनै समस्या हुन्छ ।'
वर्षौँदेखि काठे पुलको भरमा रहेका लालझाडीवासी बर्खामा ट्युबमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । 'पक्की पुल निर्माण गर्ने भनेको वर्षौँ भइसक्यो । काम कहिले सकिन्छ ? त्यसको केही सुरसार छैन', लालझाडी–५ का धोके रानाले भन्नुभयो, 'पक्की पुल नहुँदा काठे पुलमा पैसा तिरेर नदी वारपार गर्ने गरेका छौँ ।'
स्थानीयले काठे पुल प्रयोग गरेबापत साइकलको १० र मोटरसाइकलको २० रुपैयाँ शुल्क तिर्ने गरेका छन् । नदीमा व्यक्तिगत लगानीमा स्थानीय मङ्गलबहादुर चौधरीले काठको फड्के निर्माण गर्नुभएको छ । सालको काठबाट फलेक जोडेर बनाइएको अस्थायी पुल जीर्ण बन्दै गएको स्थानीय कृष्ण रानाले बताउनुभयो । 'पुलका टेको मक्किएका छन् । दुर्घटनाको खतरा छ । हामीले कहिलेसम्म काठे पुल प्रयोग गर्ने ?', उहाँले भन्नुभयो ।
बर्खामा बाढी आउने हुनाले जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत पर्ने लालझाडीसँगको सम्पर्कबिच्छेद हुने गरेको छ । बर्खामा उर्लिएर आउने दोदा नदीले यहाँका स्थानीयलाई दुःख दिने गरेको छ । 'वर्षामा काठको पुलबाट आवतजावत गर्न सकिँदैन । बाढीले बगाउने हुनाले पुल हटाइन्छ', उहाँले भन्नुभयो, 'त्यसपछि ट्युबको सहायताले जोखिम मोलेर नदी वारपार गर्नुपर्छ ।'
प्रतिकृया दिनुहोस