डडेल्धुरा । डडेल्धुराको सबैभन्दा अग्लो पहाडी क्षेत्रको घना जङ्गल फँडानीको चपेटामा छ । सामुदायिक वन अन्धाधुन्ध रूपमा स्थानीयले फँडानी गर्दा खानेपानीको मुहान सुकेका छन् ।
वन फँडानी कार्यप्रति सामुदायिक वन उपभोक्ता समिति पदाधिकारी र डिभिजन वन कार्यालयका कर्मचारी चुपचाप बसेका छन् । अमरगढी नगरपालिका–६ र ७ को डडेलधुरा–बैतडी जोड्ने महाकाली राजमार्गको भालुमारे सडकखण्डसँग जोडिएको यो वन फँडानीको चपेटामा छ ।
शिखर कैलाश सामुदायिक वनको भालुमारे, सुग्गघाणा, तोली, गोलस्ता, रातामाटी क्षेत्रमा दैनिक हरिया रुख फँडानी भइरहेका छन् । अमरगढी नगरपालिका–६ र ७ को जीवन रेखा रहेको यो वन फँडानीसँगै पोखारा, उग्रतारा, दुमडा, छचोडा क्षेत्रमा खानेपानीको समस्या बढेको छ ।
उक्त क्षेत्रको खानेपानीको मुहान शिखर कैलाश वन क्षेत्र हो । समुद्री सतहदेखि दुई हजार ७२७ मिटरसम्मको उचाइको यस क्षेको घना जङ्गल अहिले मासिँदै गएको छ । यहाँका स्थानीयले वन जङ्गल फँडानी गरेको आरोप छ ।
वडा नम्बर–७ को पोखरा क्षेत्रमा करिब सात सय घरधुरी र वडा नम्बर–६ को दुमडा र छचोडा गाउँमा करिब छ सय घरधुरी रहेका छन् । सो वन जङ्गलबाट यी दुई वटै वडामा खानेपानी र सिँचाइका लागि पानी ल्याइएको छ । महाकाली राजमार्गको पहुँच भएकाले स्थानीयले दाउराका लागि दैनिक रूपमा जङ्गल फँडानी गरेको पोखरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव गणेश साँकीले बताए ।
उग्रतारा मन्दिर र रातागौनमा रहेको सशस्त्र प्रहरी बलको ५२ नम्बर गुल्ममा पनि शिखर कैलाश वनबाट खानेपानी पुगाइएको छ । उनले भने, “खास गरी पोखराका विभिन्न गाउँका स्थानीयले काँचो रुख नै ढलाई गाडीमा ल्याएर दाउरा बनाइरहेका छन् । यस्तो बेथितिले स्थानीयलाई नै खानेपानीको समस्या हुने देखिएको छ ।
शिखर कैलाश वन उपभोक्ता समिति अध्यक्ष केशव भट्टराई उक्त वनबाट दाउरा, घाँस, स्याउला, सोत्तर तथा सिकार गर्न रोक लगाइएको बताउनुहुन्छ । गोरखापत्र
प्रतिकृया दिनुहोस