कञ्चनपुर । कञ्चनपुरमा थारु समुदायको संस्कृति जगेर्नामा ‘माघी मिलन कार्यक्रम’ सशक्त माध्यम बन्न थालेको छ ।
थारु समुदायको महत्त्वपूर्ण पर्व माघीका अवसरमा थारु बहुल गाउँहरूमा माघी मिलन कार्यक्रम आयोजना हुन थालेपछि संस्कृति जगेर्नामा टेवा पुगेको हो ।
स्थानीय तहहरूले उक्त कार्यक्रमलगायत संस्कृति जोगाउन योगदान पुर्याउने अन्य कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गर्दै आएका आएका छन् । कार्यक्रममा थारु बुढापाकाहरूबाट तन्नेरीहरूले थारु समुदायको परम्परागत लवाई खुवाइ र रहनसहनका साथै संस्कृतिसँग सम्बन्धित गीत, नृत्य, चालचलन सिक्ने मौका पनि पाउने गरेका छन् । ‘संस्कृतिसँग सम्बन्धित पुराना कुराहरू युवाले सिक्ने मौका पाउने गरेकाले थारु समुदायको परम्परा थामिएको छ,’ शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, ‘बुढापाकाहरूबाटै हराउँदै गएका सजना, धमारलगायत गीतहरू सुन्ने मौका पाएका उनीहरू सिक्न उत्सुक छन् ।’
नयाँ पुस्तालाई पुराना धार्मिक र सामाजिक भावनाले ओतप्रोत गीतहरू सुनाउने मौका पाइएको जोनापुर गाउँका पूर्ववडघर मनिराम डगौराले बताए। गीतसँगै पुस्तान्तरण हुँदै आएका सखिया, झुम्रा, हुरदुङ्ग्वा, छोक्रा, मघौटालगायत नृत्यहरू माघी मिलनजस्ता कार्यक्रममा देखाउने मौका पाइने गरिएको वडघर गहनु डगौराले उल्लेख गरे । ‘केही वर्षअघि पश्चिमी संस्कृतिको सिको गर्दै युवाले आफ्नो परम्परा, संस्कृति र पहिरन भुल्दै जान थालेका थिए,’ उनले भने, ‘देशमा लोकतान्त्रिक गणतन्त्र सुरुआत भएसँगै जनप्रतिनिधि चुन्न थालेपछि संस्कृति जोगाउनका लागि बजेटको व्यवस्था हुन थाल्या र कार्यक्रम हुन थालकाले पुराना संस्कृति जोगिएका छन् ।’
बुढापाका महिलाले मात्रै लेहङ्गा चोली पहिला बनाउने गरेको उल्लेख गर्दै गहनुले हाल लेहङ्गा चोली बनाउने तालिम नै स्थानीय तहले सञ्चालन गर्न थालेपछि युवा महिलाले पनि लेहङ्गा सहजरुपमा बनाउने गरेको बताए । निकै आकर्षक बुट्टा भएर लेहङ्गा बजारमा बिक्रीसमेत हुन थालेको उनको भनाइ थियो । लेहङ्गा निकै आकर्षक भएकाले केही वर्षअघि मात्रै पीपलाडीको थारु गाउँमा छायाङ्कन भएको नेपाली कथानक चलचित्र हिम्मतवालीको केही नृत्यमा नायिका र कोरस डान्स गर्नेहरूले लेहङ्गा लगाएका र यसले डगौरा तथा चौधरी समुदायका महिलाको पहिरन भनेर चिनाउन मद्दत पुगेको गहनुले उल्लेख गरे।
कुनै पनि सांस्कृतिक समारोह तथा विवाहलगायत कार्यक्रममा थारु युवतीले परम्परागत पहिरन र गहना लगाउने गर्दै आएका छन् । जनचेतनाको बढ्दो प्रभावका कारण संस्कृतिसँग सम्बन्धित कुराहरू जोगिएको थारु अगुवाको भनाइ थियो । ‘युवतीले निः सङ्कोच सार्वजनिक समारोहमा परम्परागत पहिरन र गहना लगाउने गरेका छन्,’ टिकुराम दहितले भने, ‘यो गर्वको कुरा हो, पछिल्लो पुस्ता पनि परम्परागत पहिरन जोगाउन अगाडि सरेका छ ।’
पहिरनसँगै माघी मिलन कार्यक्रमहरूमा थारु समुदायको परम्परागत मौलिक परिकारका रूपमा रहेका अन्तीको चामलको पीठोबाट बनाइएको ढिक्री, गुलियार जाँड, महुवाँको फुलबाट तयार गरिएको मदिरा, मुसाको चटनी, घोँघी, सुँगुरको सिकारलगायत बनाउने र पाहुनालाई चाडपर्वका बेला खुवाउने गरिएको छ । औद्योगिक व्यापार, मेला, पर्यटनसम्बन्धी मेला र हाटबजार लाग्ने क्षेत्रमा थारु समुदायका मौलिक परिकार बिक्रीका लागि राखिएको हुन्छ ।
थारु परिकारको व्यवसायीकरणले आम्दानीको स्रोत वृद्धि हुनु सकारात्मक भएको आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का कञ्चनपुर अध्यक्ष डिवी कुश्मीले बताए । सांस्कृतिक समारोहमा परम्परागत पहिरन, गहना, गीत, नृत्य, परिकार जोगिनाका साथै समाजलाई समृद्धिको बाटोमा अगाडि बढाउन र अधिकारका लागि सचेत पार्न गीत र नृत्यमार्फत कार्यक्रमहरू पनि हुने गरेका छन् ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि र कर्मचारीलाई सुनाउन पनि थारु समुदायका स्थानीय कलाकारले गीतमार्फत अधिकारका कुराहरू व्यक्त गर्न पछि पर्दैनन् । पीपलाडीमा मङ्गलवार आयोजना भएको माघी मिलन कार्यक्रममा टोलको नेतृत्व गर्दै मघौटा नृत्य लिएर पुग्नुभएकी राजकुमारी चौधरीले किसानले अन्न, तरकारीलगायतको मूल्य नपाएको र अधिकारका लागि आफैँ अगाडि बढ्नुपर्ने सहभागीहरूलाई गीतमार्फत सुनाए ।
थारु समुदायका सीपमूलक कामलाई व्यावसायिकीकरण गराउन आधुनिक तालिमको व्यवस्था गर्न लागिएको उल्लेख गर्दै उनले मातृभाषामै थारु समुदायका बालबालिकालाई आधारभूत तहको ज्ञान दिलाउनका लागि पाठ्यक्रम तयार गर्न थारु शिक्षक र बुद्धिजीवी अगाडि सर्नुपर्नेमा जोड दिए।
प्रतिकृया दिनुहोस