रावणलाई राम भनेर पूजा गर्ने राक्षसहरूलाई सलाम.....

छिनोफानो   सोमबार २७, माघ २०८२ १२:१२

पवन भण्डारी, धनगढी । आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागी अहिले विभिन्न राजनैतिक दलहरू चुनावी प्रचार प्रसारमा जुटेका छन । नेताहरूले आफ्ना विभिन्न एजेन्डा सहित मतदाताहरूको घरमा भोट मागिरहेका छन । भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलन पछि बदलिएको देशको परिस्थिति निकै दयनीय छ । देशका अधिकांश सरकारी संरचनाहरू ध्वस्त छन । 

राज्यलाई खरबौँको भार परेको छ । जेनजी आन्दोलन पछि अन्तरिम सरकारले प्रतिनिधि सभा विगठन गर्यो र आगामी फागुन २१ मा निर्वाचन गर्ने गरि काम अगाडि बढाएको थियो । यो समयमा नेपालमा राजनैतिक दल खोल्नेहरूको भिडभाड निकै बढेको देखिन्छ । सामाजिक सञ्जाल फेसबुकमा रोइकराई गर्नेले पनि पार्टी दर्ता गरे । अलि अलि काम गरेर चर्चा बटुलेकाहरूले पनि पार्टी दर्ता गरे । 

देशमा भौतिक संरचनामा आगो लगाएर चर्चित बनेकाहरूले पनि पार्टी दर्ता गरे । कोही अब देशमा नयाँ शक्ति ल्याउनु पर्छ भन्दै नयाँ गठन भएका पार्टीमा समाहित भए । अचम्म त यहाँ निर लाग्छ जसलाई सार्वजनिक सम्पतीमा हाम्रो हक लाग्छ भन्ने थाहा हुँदैन जो यो देश जलाउन लागे उनीहरू लाई देश बनाउन हामी जनताले भोट दिन पर्ने अवस्था आयो । मैले कसै पार्टीको विरोध या समर्थन गरेको छैन । 

सिहदरवार जलाउने उम्मेदवारहरुलाई मेरो एउटै प्रश्न जितेर सिंहदरबार छिर्ने बेला तपाईँलाई अलिकति हीनता बोध होला की ? हो तत्कालीन केपी ओली सरकारले आन्दोलनमा बल प्रयोग गर्यो हाम्रा केही युवाहरूले ज्यान गुमाए यसको अर्थ देश जलाएर ति हाम्रा कलिला बालबालिकाको आत्माले शान्ति मिल्छ होला ? होइन जेनजि आन्दोलनमा ज्यान गुमाएकाहरूको आत्माले तब शान्ति पाउने छ जब यो देशमा भष्ट्रचारको अन्त्य हुने देशमा नागरिकले शान्ति सुरक्षा अमनचयन कायम गर्ने छन । 

जनताको पसिनामा रजाइँ गर्नेहरू जेलमा हुने छन । तर यो देशको मुहार फेर्न गरेको जेनजीको आन्दोलन लाग्न थाल्यो बालुवामा पानी । यहाँ गुण्डाको राज भइरहेको छ । दलालहरूले देशमा सिर ठाडो पारिरहेका छन । भष्ट्रचारीहरुले आफ्नो नैतिकता जोगाउन खोजी रहेका छन । जनता कैदीहरूको डर त्रासमा बाची रहेका छन । सरकारले गुण्डा राजको डरमा काम गरिहरेको छ । 

जेनजीको नाममा सरकारलाई धम्क्याउने गुन्डाराजहरू हामी देश बनाउँछु भन्दै चुनावमा होमिएका छन । आफू बन्द कोठामा लुकेर गरिबका छोराछोरीलाई सडकमा उतारेर राजनीति गर्नेहरू अहिले  देश कब्जा गर्ने मोडमा छन । जेन्जीहरुको  बलिदानमा देश शोकमग्न भयो, कसैले छोरा गुमाए कसैले भाइ गुमाए कसैले बहिनी गुमाए कसैले श्रीमान् गुमाए कसैले जीवन भर अङ्ग भङ्ग भई बाच्नु परिरहेको छ । यो पिडालाई महसुस समेत नगरेको एक पत्थर मुटु भएको रावणले अव देश म बनाउँछु भन्दा पत्याउनु पर्ने अवस्था आयो । 

हामी यति सम्म अन्धभक्त भयौ हामीले किन बुझ्दैनौ यो देश कसले जलायो ? यो देशको सम्पतीमा कसले आगो लगायो ? जेनजीको रगतमा कसले होली खेल्दै छ ? ७६ जनाको मृत्युमा देश विदेशबाट श्रद्धाञ्जली सहित शोक वक्तव्य जारी भए । तर जो जेनजिकै आडमा भावी प्रधानमन्त्री र मन्त्री बन्न चुनाव लड्दै छन् उनीहरूको मन बाट कहिल्यै हार्दिक श्रद्धाञ्जली  भन्ने सम्मको सहानुभूति पाएनन् जेनजीका मृतक परिवारले । 

पशुपति आर्यघाटमा जेनजी मृतकहरूको अन्तिम बिदाइमा देशमा सबै नागरिक श्रद्धाञ्जली दिन पुगे पीडित परिवारलाई सान्त्वना दिन पुगे । तर जेनजी विद्रोह गरि महलमा रमाएका रावणहरूले पशुपतिको चित्कार देखेनन् । देखे त केवल यो आन्दोलन पछि मैले कसरी स्वार्थ लिने । 

मर्नेहरू मरे, घाइते अझै अस्पतालहरूमा छन । तर स्वार्थीहरू अहिले भोट माग्न गाउँ गाउँमा पसेका छन । हामी अन्धभक्त भन्दै छौ यो देश त्यो परिवर्तन गर्न स्वार्थीहरू लाई भोट हालौँ । कठै हाम्रो सोच हामी नेपाली हु मा हुर्रे गर्न बाहेक केही नजान्ने रहेछौ । देश कंकागल भइसकेको छ । देश भदौ अगाडीको स्थितिमा पुग्न अझै करिब १० बर्ष लाग्ने छ । रावणहरूले नेपाल लङ्का बनाई सके अझै भन्दै हामी स्वर्ग बनाउँछौ भनेर अनि पत्याउनु पर्ने हामी मूर्ख जनताले । 

अहिले तिमिहरू सडकमै छौ तिमिहरू सँग पत्रकारले जवाफ  माग्न मिल्दैन, तिमीहरू सँग फोटा खिच्न मिल्दैन । तिमीहरूलाई तल्लो स्तरको नेताले सम्मान गर्न मिल्दैन । जुन दिन तिमिहरू सरकारमा पुग्छौ त्यो दिन नेपालमा राजतन्त्र भन्दा कडा शासन हुने तिमीहरूको चुरीफुरी बाट प्रस्ट देखिन्छ ।

तिमिलाई जनताले राम सोचेका छन तिमी कलियुगको रावण भन्दा कम हुने छैनौ । तिम्रा समर्थकहरू अरू पार्टीका नेताहरूले जे गरे पनि गलत नै देख्छन्, आफ्नो पार्टीका उम्मेदवारहरुले ४ वर्षकी बालिकाको किचेर ज्यान लिँदा समेत शोक वक्तव्य सम्म जारी नगरी मौन बस्नेहरूलाई राम भनेर पूजा गर्ने राक्षसहरू सलाम.....  । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु