काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।
नेपाली समयअनुसार आइतबार बिहान अमेरिकाको पेन्सिल्वेनियामा भएको एक र्यालीमा ट्रम्पमाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट ट्रम्पको अनुहार र कानमा चोट लागेको छ । अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले उहाँको अवस्था सामान्य रहेको जनाएको छ ।
गोली प्रहारबाट घाइते हुनुभएको ट्रम्पलाई गुप्तचरहरूले नजिकैको अस्पतालमा लगेका थिए ।
आफैँले खोलेको सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’ मा एउटा सन्देश लेख्दै ट्रम्पले आफू ‘सकुशल रहेको’ र स्थानीय स्वास्थ्य संस्थाले उपचार गरिरहेको उल्लेख गर्नुभएको छ ।
ट्रम्पले लेख्नु भएको छ, ‘‘सुइँय्य गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो। धेरै रगत बगेपछि के भएको हो भन्ने मैले थाहा पाएँ।’’
उहाँलाई बचाउन सुरक्षा अधिकारीहरू दौडादौड गरेको दृश्यबीच ट्रपको कान र अनुहारमा रगत बगेको स्पष्ट रूपमा देखिएको थियो।
उक्त घटनामा एक जना सन्दिग्ध व्यक्तिलाई ‘यूएस सिक्रेट सर्भिस’ का अधिकारीहरूले गोली हानेर हत्या गरिदिएको जानकारी उक्त निकायका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले दिनु भएको छ ।
गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। बीबीसी
प्रतिकृया दिनुहोस