काठमाण्डौ – प्रेस काउन्सिल नेपालले सातवटै प्रदेशका प्रमुख शहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम गर्ने भएको छ ।
काउन्सिलको १२औँ बैठकले आचारसंहितासम्बन्धी अध्ययन, अनुसन्धान र जागरणलाई यसवर्ष र आउँदो वर्षसमेत प्राथमिकता दिई कार्यक्रम तय गर्ने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो ।
पत्रपत्रिका मूल्याङ्कनका लागि विज्ञको रोष्टर अद्यावधिक गर्ने एवम् पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्डलाई पुनरावलोकन गरी वर्गीकरण प्रक्रियालाई यथार्थपरक, वस्तुनिष्ठ एवम् समयानुकूल बनाउन आवश्यक कार्य गरिने काउन्सिलले जनाएको छ ।
यस्तै, काउन्सिलद्वारा प्रदान गरिने विभिन्न पुरस्कारलाई थप पारदर्शी प्रभावकारी बनाउन पुरस्कारसम्बन्धी कार्यविधिमा सुधार र परिमार्जन गरिनेछ । पत्रपत्रिकासहित सञ्चारमाध्यमको अभिलेख अद्यावधिक गर्ने र अद्यावधिक गर्ने सन्दर्भमा देखिएका समस्या एवम् चुनौतीलाई समाधान गर्न, अभिलेखसम्बन्धी अवधारणापत्रसहित कार्ययोजना तयार गर्ने काउन्सिलले निर्णय गरेको छ ।
बैठकले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न/गराउन सम्बन्धित सबैमा अपिल गरेको छ ।
प्रतिकृया दिनुहोस