बैतडी बस दुर्घटनाले रुवायो गाउँ: बाबू–छोरा, दाजुभाइ र ज्वाइँको एउटै चिहान

छिनोफानो   शुक्रबार २४, माघ २०८२ ११:१७

धनगढी । बैतडी बस दुर्घटनामा सहोदर दाजुभाइ, भतिज र छोरी ज्वाइसहित १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउने नरेन्द्रराज जोशी र विष्णुदत्त जोशी सहोदर दाजुभाइ हुन्। उनीहरू बेहुलाका सहोदर काका हुन्। नरेन्द्रराज बित्थडचिर गाउँपालिकाका प्राविधिक सहायक हुन् भने विष्णुदत्त बित्थ्यडचिरकै महादेव माध्यमिक विद्यालयका शिक्षक हुन्। यस्तै घटनामा ज्यान गुमाउने वसन्तराज जोशी, मृतक नरेन्द्रराज र विष्णुदत्तका माइलो दाजुको जेठो छोरा हुन्। वसन्तराज कृषि प्राविधिक पदमा कार्यरत थिए।

घटनामा ज्यान गुमाउने बझाङको जयपृथ्वी नगरपालिका–७ का वसन्तराज रताला मृतक वसन्तराज जोशीका सहोदर भिनाजु हुन् भने मोहनदेव भट्ट र केशवराज भट्ट बुवा–छोरा हुन्। अन्य मृतक तथा घाइतेहरू पनि बेहुलाका आफन्त र इष्टमित्र रहेको बताइएको छ। घटनामा बेहुलाका एक काकाको खुट्टा भाँचिएको छ भने ठूलो बुवा पनि घाइते भएका छन्। घटनामा ज्यान गुमाउने बित्थडचिर ठेगाना भएका व्यक्ति एउटै गाउँका आफन्त र बाँकी इष्टमित्र रहेको बुझिएको छ। यस्तै, सोही दुर्घटनामा ज्यान गुमाउने १४ वर्षीय किशोर सुशील जोशी बेहुलीका भाइ हुन्।

घटनामा ज्यान गुमाउनेमा पुर्चौडी–७ र बझाङको बित्थडचिरका बेहुला परिवारका आफन्त र इष्टमित्र रहेको बताइएको छ। बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित वडूगाउँ मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ। बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस बिहीवार अपराह्न ७ः३० मा दुर्घटनामा परेको हो। जन्ती बोकेको पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचनाअधिकारी प्रहरी निरीक्षक भानदेव बडूले जानकारी दिए। दुर्घटनामा १८ महिला र २७ पुरुष गरी जम्मा ४५ जना घाइतेको उद्धार गरिएको थियो। घाइतेहरूलाई उपचारका लागि कोटीला स्वास्थ्य चौकी पठाइएको थियो, गम्भीर घाइतेलाई थप उपचारका लागि डडेल्धुरा रिफर गरिएको छ।

दुर्घटनामा परेर घटनास्थलमै तथा उपचारको क्रममा ज्यान गुमाउनेहरूमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशब राज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णु दत्त जोशी, ४२ वर्षीय नरेन्द्रराज जोशी, १८ वर्षीय विसनदत्त जोशी, २७ वर्षीय दिपकराज जोशी, ४५ वर्षीय किसनदत्त जोशी, बझाङ केदारस्यु गाउँपालिका निवासी ६० वर्षीय मोहन देव भट्ट र केशवराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्त राज रतला तथा बैतडी पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थी र १४ वर्षीय किशोर सुशील जोशी रहेका छन्।

घटनास्थलमै ६ जनाको, कोटिला स्वास्थ्य चौकीमा दुई जना तथा डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा थप ५ जनाको ज्यान गएको बैतडी प्रहरी प्रवक्ता भानदेव बडूले बताए। उनका अनुसार पाँच जना गम्भीर घाइतेलाई डडेल्धुराबाट धनगढी रिफर गरिएको छ भने, २५ जनाको डडेल्धुरामा उपचार भइरहेको छ। यस्तै चार जनाको बझाङको देउलेक स्वास्थ्य केन्द्र बस चालकको बैतडीको पाटनमा उपचार भइरहेको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै पुर्चौडी र ढोल्यामोडबाट नेपाल प्रहरीको टोली खटिएको थियो भने पाटनबाट सशस्त्र प्रहरी बलका डीएसपी शंकर धामीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। स्थानीय बासिन्दाहरूले पनि उद्धार कार्यमा सहयोग गरेका थिए। बेहुली लिएर बझाङ फर्किने क्रममा जन्ती बोकेको बस दुर्घटनामा परेको हो। उकालो घुम्तीमा ओभरलोडका कारण बस खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। जन्तीको बस दुर्घटना हुँदा बैतडीको पुर्चौडी नगरपालिका र बझाङको बित्थडचिर गाउँपालिका शोकमा डुबेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु