सुदूरपश्चिम प्रदेशमा चुनावी सुरक्षाका लागि ७ हजार प्रहरी सहित १३ भन्दा बढी निर्वाचन प्रहरी परिचालन हुने

छिनोफानो   सोमबार २०, माघ २०८२ ११:२१

धनगढी । सुदूरपश्चिम प्रदेशमा चुनावी सुरक्षाका लागि सात हजार बढी प्रहरी परिचालन गरिने भएको छ । २१ फागुनमा हुने निर्वाचनका प्रदेश प्रहरी कार्यालय धनगढीले सुरक्षा चुनौती विश्लेषण गर्दै सोही अनुसार प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिने जानकारी दिएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी पदमबहादुर विष्टले निर्वाचनका लागि सात हजार ५८ जना प्रहरी परिचालन गरिने जानकारी दिए ।

उनकाअनुसार प्रहरीसँगै निर्वाचन प्रहरी समेत सहयोगी भूमिकामा खटिनेछ । ९ वटै जिल्लामा १३ हजार ६६९ जना निर्वाचन प्रहरीलाई खटाइने एसएसपी विष्टले बताए । सशस्त्र प्रहरीतर्फ भने एक हजार ५१९ निर्वाचन प्रहरी रहनेछन् ।

२१ फागुनमा हुने निर्वाचनका लागि सुदूरपश्चिममा १७ लाख १६ हजार ६७५ मतदाता रहेका छन् । उनीहरू मध्ये आठ लाख ६४ हजार ४२३ महिला र आठ लाख ५२ हजार २१९ पुरूष मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

सुरक्षा संवेदनशीलताका आधारमा मतदानस्थलको वर्गीकरण गर्दै सोही अनुसार व्यवस्था मिलाइएको जनाएको छ । प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी विष्टकाअनुसार सुदूरपश्चिममा एक हजार १७६ मतदान स्थल र दुई हजार १९९ मतदान केन्द्र रहेका छन् । तीमध्ये मतदान स्थल ३०० सामान्य, ३९५ संवेदनशील र ४८१ अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।

यस्तै मतदान केन्द्रतर्फ ४५६ सामान्य, ७५७ संवेदनशील र ९८६ अतिसंवेदनशीलको सूचीमा छन् । सामान्यमा मतदान केन्द्रमा ५ जना, संवेदनशीलमा ६ जना र अतिसंवेदनशीलमा १० जना प्रहरी परिचालन हुनेछन् ।

मतदान स्थलको भित्री सुरक्षामा उनीहरू परिचालन भएपनि बाहिरी सुरक्षामा भने थप प्रहरी खटाइने एसएसपी विष्टले बताए । सुदूरपश्चिम प्रदेशमा योपटक २४ राजनीतिक दलले निर्वाचनमा भाग लिएका छन् ।

चार जिल्लामा विशेष सुरक्षा प्रहरीले सुदूरपश्चिमका चार जिल्लालाई अतिसंवेदनशीलको सूचीमा राख्दै विशेष सुरक्षा व्यवस्था मिलाएको छ । विगतका निर्वाचनमा भएका घटना लगायतका आधारमा बाजुरा, बझाङ, अछाम र दार्चुलालाई अतिसंदेनशीलको सूचीमा राखेको छ । यी जिल्लाका मतदान स्थल र मतदान केन्द्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच, सुदूरपश्चिम प्रदेशको चुनाव केन्द्रीत सुरक्षा अवस्थाको विश्लेषणका लागि एआईजी हिमालय श्रेष्ठ नेतृत्वको विशेष टोली धनगढी पुगेको छ ।

प्रहरी प्रधान कार्यालयले श्रेष्ठको नेतृत्वमा पठाएको टोली आइतबार धनगढी पुगेको छ । उक्त टोलीले प्रदेशको सुरक्षा अवस्थाको विश्लेषण गर्दै जनशक्ति परिचालन लगायतका विषयमा अध्ययन गर्नेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु