बाजुरा । बाजुरामा फेरि हिमपात सुरु भएपछि चिसो बढेको छ । हिमाली क्षेत्रका उच्च ठाउँमा गत बिहीबारदेखि हिमपात भएपछि चिसो बढेको हो । चिसोका कारण यहाँका बासिन्दाको दैनिक काम प्रभावित भएको छ ।
शुक्रबार बिहान ७ बजेदेखि फेरि हिउँ पर्न सुरु भएपछि चिसो पनि निकै बढ्न थालेको बुढीनन्दा नगरपालिका–७, सेरकाटीयकी जनपुरा विकले बताउनुभयो ।
उहाँले भन्नभुयो, “बडीमालिका, बुढीनन्दा, जगन्नाथ, हिमाली, स्वामीकार्तिकलगायतका उच्च स्थानमा हिउँ पर्न सुरु भएपछि चिसो बढेर यहाँका बासिन्दाको दैनिक काम प्रभावित भएको छ ।” बिहीबार बिहानैदेखि पर्न थालेको हिमपातले बालबालिका तथा वयोवृद्धलाई चिसोले घरबाहिर आउन नसकेको विकले बताउनुभयो ।
हिउँदको महिना यहाँ त्यसै पनि निकै चिसो हुन्छ । त्यसैबेला फेरि यहाँ दुई पटक हिउँ परेपछि अहिले झन् चिसो बढेको छ ।
मङ्सिर, पुस र माघको महिनादेखि नै यहाँका अधिकांश ठाउँमा धेरै चिसो हुने गर्छ । यस वर्ष मङ्सिरको २३ गतेदेखि हिउँ पर्न सुरु भएपछि त्यो हिउँको चिसोले यहाँका बालबालिका तथा ज्येष्ठ नागरिकलाई निकै कठिनाइ भएको छ ।
पटक पटक हिमपात हुन थालेपछि अहिले बाजुराका स्थानीयलाई गाईभैँसी र भेडाबाख्रालाई वनमा चरिचरन गराउनसमेत समस्या भएको छ । हिउँले यहाँको जमिन पूरै सेताम्मे भएपछि यहाँका स्थानीयलाई भेडाबाख्रालाई बाहिर ल्याएर चरिचरन गर्न समस्या हुने गरेको छ ।
बाजुरामा हिउँदे खेतीका बेला सिँचाइको अभाव हुने गरेको छ । सिँचाइ अभावका कारण हिउँदे बाली गहुँ र जौ सुक्ने गर्छ । यस वर्ष भने चार पटक हिउँ परेपछि खेतीपाती राम्रो हुने आशामा कृषक खुसी भएका छन् । हिउँ परेपछि सिँचाइ अभावका कारण सुक्न लागेको गहुँ र जौ बाली अब हराभरा हुने आस कृषकको छ ।
बाजुरामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर जमिन खेतीयोग्य छ भने यसमा पाँच हजार २३५ हेक्टर जमिनमा मात्र वर्षभरिमा सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख दसिराम साहनीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस