चरम दोहनले मासिँदै सिमसार

छिनोफानो   सोमबार २१, माघ २०८१ १२:४२

धनगढी । सिमसार क्षेत्रका रूपमा परिचित कैलालीमा सिमसारको स्वरूप दिनप्रतिदिन बिग्रिँदै गएको छ । पालिकाहरू ठेक्का लगाएर आयआर्जन गर्नेतिर लागेपछि ती सिमसारको स्वरूप बिग्रिँदै गएको हो । स्थानीय सरकारले आआफ्ना पालिका क्षेत्रमा रहेका सबै प्राकृतिक तालतलैयालाई ठेक्का लगाएका छन् । ठेक्का लगाइएका प्राकृतिक तालमा ठेकेदारले अन्धाधुन्ध डोजर लगाएर त्यसलाई कृत्रिम पोखरी बनाएका छन् । त्यसमा व्यावसायिक माछापालन गरिरहेका छन् ।  

सिमसार क्षेत्र अब सिमसार भन्नलायक नरहेको सामुदायिक वन उपभोक्ता महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष झुमादेवी चौधरीले बताउनुभयो । तालतलैयाको जिल्ला कैलालीमा सिमसारको अवस्था बिग्रिँदै गएको उल्लेख गर्दै उहाँले कैलालीमा दलदल, तालतलैया अब छैनन्, सिमसार छन् तर त्यसको परिभाषा बदलिएको बताउनुभयो । 

जैविक विविधताका हिसाबले महत्वपूर्ण सिमसार मासिँदै गएपछि यसको संरक्षणमा जोड दिँदै हरेक वर्ष फेब्रुअरी २ मा विश्व सिमसार दिवस मनाइने गरिन्छ । चराचुरुङ्गी, जलीय जीव र रैथाने प्रजातिका लागि महìवपूर्ण सिमसार क्षेत्रलाई पालिकाले ठेक्का दिएपछि ठेकेदारले आम्दानीका लागि आफ्नै तरिकाले प्रयोग गरिरहेका छन् । स्थानीय सरकारले राजस्व सङ्कलनका लागि प्राकृतिक तालतलैयालाई ठेक्का दिने गरे पनि सिमसार संरक्षण र व्यवस्थापनमा खर्च गरेको देखिँदैन । कैलालीको महìवपूर्ण वन क्षेत्र वसन्ता कोरिडोरभित्र रहेका प्राकृतिक तालतलैयालाई पालिकाहरूले माछापालनका लागि ठेक्का दिएका छन् । ती तालतलैयामा कृत्रिम पोखरी निर्माण गरेर माछापालन भइरहेको छ । तालतलैया ठेक्काबाट करोडौँ राजस्व उठेको छ तर सिमसार क्षेत्र भने मासिएको छ । 

व्यवस्थापनमा चुनौती

पछिल्लो समय सिमसार व्यवस्थापनमा अलि बढी नै चुनौती देखिएको छ । सिमसार क्षेत्र घट्ने, सुक्खा हुने क्रम बढिरहेको छ । सिमसारको सम्भावना बढी रहेको कैलालीमा सिमसार व्यवस्थापनमा भने सुधार नभएको सबडिभिजन वन कार्यालय भजनीका वन अधिकृत लालबहादुर विकले बताउनुभयो । 

घोडाघोडी समाचारदाताका अनुसार मानवीय गतिविधिका कारण सिमसार क्षेत्रको जलाधर क्षेत्र सङ्कटमा पर्दै गएको विभिन्न प्रतिवेदनमा सार्वजनिक हुँदै आएको छ । कैलालीको विश्वसिमसार क्षेत्र घोडाघोडी तालमा आइतबार विश्व सिमसार दिवस मनाइरहँदा अधिकांश वक्ताले दिवसमा बोलिएका कुरालाई सबैले व्यवहारमा लागु गर्नुपर्ने बताए । हरेक वर्ष सिमसार क्षेत्रमै औपचारिक कार्यक्रम गरेर सरोकारवाला निकायले सिमसार दिवस मनाउँदै गर्दा ताल सुक्दै गएका छन् भने ताल वरपरको वातावरण फोहोरले कुरूप बन्दै गइरहेको छ ।

टीकापुरबाट सिमसार दिवस मनाउन विद्यार्थी लिएर घोडाघोडी ताल पुगेका जैविक विज्ञानका शिक्षक लक्ष्मण उपाध्यायले यत्रतत्र फालिएको फोहोरले घोडाघोडीको प्राकृतिक सुन्दरता बिग्रिँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्व रामसार साइटमा सूचीकृत घोडाघोडी सिमसार क्षेत्रमा ध्वनि प्रदूषण र प्लास्टिक प्रदूषण धेरै छ, यसको व्यवस्थापन आवश्यक छ ।”

घोडाघोडी वरपर रहेका बर्सैभरि पानी रहिरहने २४ वटा तालमध्ये बर्सातको समयबाहेक पाँच वटा ताल सुकेर चौरमा परिणत हुने गरेको तथ्याङ्क केही समयपहिला सार्वजनिक गरिएको थियो । वर्षभरि पानी रहने घोडाघोडी, नकरोड तालसमेत हरेक वर्ष साँघुरिँदै र पुरिँदै गई तालको गहिराइ कम हँुदै गएको बताइन्छ । चारैतिर सामुदायिक वनले घेरेको दुई हजार ५६३ हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी ताल वरपर अन्य २३ वटा ताल रहेका छन् । सामुदायिक वन क्षेत्रमा रहेका सो तालमध्ये पाँच वटा प्राकृतिक ताल सुकेर चौरमा परिणत भएका छन् । 

सिमसार क्षेत्रभित्र घोडाघोडी, रामफल, बिसकाचटिया, सोनपोखरी, बुहिया नकरोड, खोरोहुवा नकरोड, बेसहुवा, चन्द्रबिजुवा, बुकुवा, चटिया, पुर्बेक ओजहुवा, ओजहुवा, टेगनहुवा, टेडी, पर्सिहिनिया, टिनचटिया, पुरैना, बन्द्रहुवा, पल्ससिया, भुन्कैहया, देउकलिया र रमटसिया गरेर २४ वटा ताल रहेका छन् । यी तालमध्ये सेम्रहवा, चन्द्रबिजुवा, बुकुवा, पर्सिहिनिया, टिनचटिया, बन्द्रहुवा तालमा बाह्रैमास पानी रहँदैन । यसरी प्रत्येक वर्ष ताल सुक्दै जानुमा तालमा माछापालन गरिनु र माछा निकाल्दा तालको पानी सुकाउने गर्नाले ताल सुक्खा हुँदै गएको छ भने जङ्गल अतिक्रमण पनि अर्को कारण रहेको छ । अन्य तालमा समेत पानीको सतह घट्दै गइरहेको छ । घोडाघोडी सिमसार क्षेत्र तराईको सबैभन्दा ठुलो जलाशय क्षेत्रका साथै नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र हो । यहाँ जलाशयमा रमाउने ३८२ प्रजातिका चरा ४५० प्रजातिका वनस्पति, ३२ प्रजातिका माछा, ३२ प्रजातिका पुतली, ११ प्रजातिका घोँगी, सात प्रजातिका घस्रने जन्तु रहेको घोडाघोडी संरक्षण मञ्च अध्यक्ष हेमबहादुर बमले जानकारी दिनुभयो । 

आलीतालमा सिमसार दिवस

अमरगढी समाचारदाताका अनुसार महाभारत र चुरे पर्वतको सिमानामा पर्ने आलीतालमा पहिलो पटक विश्व सिमसार दिवस मनाइएको छ । भित्री मधेश क्षेत्रको आलीताल गाउँपालिका–३ मा अवस्थित आलीतालमा सिमसारको महत्व, संरक्षणका लागि बहस र सरसफाइ गर्दै आइतबार विश्व सिमसार दिवस मनाइएको हो । “हाम्रो साझा भविष्यका लागि सिमसार क्षेत्रको संरक्षण” भन्ने मूल नाराका साथ सो दिवस मनाइएको हो । 

सो विषयमा आलीताल गाउँपालिका र छिमेकी डोटी जिल्लाको जोरायल गाउँपालिकाका जनप्रतिनिधि, आलीताल सबडिभिजन वन कार्यालयका वन अधिकृत, यस क्षेत्रका विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयको उपस्थितीमा जानकारी, बहस र आलीताल क्षेत्रमा सरसफाइ गरिएको आयोजक ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेलधुराका कार्यकारी निर्देशक अमरबहादुर साउदले जानकारी दिनुभयो । 

आलीतालको संरक्षण, भूक्षयीकरण रोक्नका लागि बाँध लगाउने, सिँचाइका लागि व्यवस्थित रूपमा कुलो निर्माण, अवलोकनका लागि चारैतर्फ फुटपाथ निर्माण, टहरा निर्माण, घेरबार गरिएको आलीताल गाउँपालिका–३ का वडाध्यक्ष बलबहादुर बुढाले जानकारी दिनुभयो । तालको पूर्वतर्फको किनारमा भ्यु टावर पनि निर्माण गरिएको उहाँले बताउनुभयो । आलीताल धार्मिक आस्थाका रूपमा समेत रहेकाले यस वर्ष २५ लाख रुपियाँ लागतमा मन्दिर निर्माण गरिएको उहाँले बताउनुभयो 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु