काठमाण्डौ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नेको घुईंचो लाग्न थालेको छ । यसअघि कम उत्साह रहेकोमा पछिल्ला केही दिनयता घुईंचो बढेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रूपमा मतदाता नामावली सङ्कलन अगाडि बढीरहेको छ । यही कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन हुनेछ । चुनावका लागि मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताले मात्र मतदान गर्न पाउने छन् ।
यस्तै १६ वर्ष उमेर पूरा भई नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने छन् । आयोगले प्रतिनिधिसभा चुनावको कार्ययोजना पनि तयार पारेको छ । आयोगको कार्ययोजना अनुसार चुनाव प्रचार–प्रसारका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म तोकिएको छ ।
त्यसपछि मौन अवधि शुरु हुनेछ । त्यस्तै फागुन १२ गतेभित्र मतपत्र जिल्ला सदरमुकाम पुर्याउने र त्यसपछि मतदान केन्द्रहरूमा पठाइने कार्ययोजना छ । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको हिजोको बैठकमा आयोगका पदाधिकारीले चुनावको पूर्व तयारी र आउँदो कार्यक्रमबारे जानकारी दिएका हुन् ।
प्रतिकृया दिनुहोस