धनगढी — जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ मा कैलाली कारागारबाट भागेका कैदीबन्दीमध्ये २५६ जना अझै पक्राउ परेका छैनन् । उक्त दिन कैलाली कारागारबाट ६६५ कैदी बन्दी फरार भएका थिए । कारागारका जेलर चिरञ्जीवी सापकोटाका अनुसार सरकारले घटनालगत्तै भदौ २६ मा सूचना जारी गरी फरार कैदीहरुलाई असोज २० भित्रै फर्कन भनेको थियो । कैदीबन्दीलाई आफूखुशी फर्कन तोकिएको समय बितिसक्दा पनि २५६ कैदीबन्दी अझै सम्पर्कमा नआएको उनले बताए ।
‘कैलाली कारागारका ६६७ कैदी बन्दीमध्ये घटनाका दिन ६६५ गेट तोडेर फरार भएका थिए,’ जेलर सापकोटाले भने, ‘कैदीबन्दी फरार हुने घटनाका बखत १ जना भाग्न नचाहेर जेलभित्रै रहे भने अर्का एकजना उपचारमा रहेका थिए ।’ उनका अनुसार सोमबारसम्म फरार भएकामध्ये आफूखुशी र सुरक्षाकर्मीले पक्राउ गरेकाहरु ३९६ जना कारागार फर्केका छन् ।
जेलर सापकोटाका अनुसार कारागारमा फर्केकाहरुमा अन्य कारागारबाट फरार भएकामध्ये २० जना कैलाली कारागारमा फर्केका छन् भने कैलालीबाट फरार भएका ११ जना अन्य कारागारमा फर्केका छन् । ‘कानुनी प्रक्रियाअन्तर्गत कैदको अवधि पूरा गरेका केही कैदी यो बीचमा थुनामुक्त पनि भएका छन्,’ उनले भने, ‘हाल कारागारमा सोमबार फरार भएकामध्ये आफूखुशी फर्केकी १ महिला, ३६ महिलासहित ४ सय कैदीबन्दी रहेका छन् ।’ भदौ २४ गते दिउँसोको घटनामा आन्दोलनकारीको ठूलो समूह कारागारको बाहिरी गेट तोडेर कारागार परिसरमा प्रवेश गरेको थियो । घटनास्थलमा रहेका एक प्रहरी सुरक्षाकर्मीका अनुसार बन्दीगृहको गेट तोडेर बाहिर भाग्दै गरेका कैदीबन्दी र बाहिरबाट आएको आन्दोलनकारीको उग्र समूहकाबीच दोहोरो झडप नहुँदा उक्त घटनामा कोही हताहत भएनन् । ‘कारागारको एक गाडी आगजनी गरी पूर्ण रुपमा क्षतिग्रस्त हुन पुग्यो भने प्रहरी कर्मचारीको स्कुटर र साइकिल पनि आन्दोलनकारीले तोडफोड गरे ।
उक्त घटनाका बखत २१ जना भारतीय कैदीबन्दी कारागारमा थिए । उनीहरुमध्ये २ जना कारागार फर्केका छन् भने अझै १९ जना फरार अवस्थाका रहेको जेलर सापकोटाले बताए । ठूलो संख्यामा कैदीबन्दी फरार हुँदा सुरक्षाकर्मीका हातहतियार भने सुरक्षित अवस्थामै रहेको पनि उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस