बझाङमा सञ्चालित हातेकागज उद्योग बन्द अवस्थामा छन् । जयपृथ्वी नगरपालिकाको कैलाशमा रहेको मालिका हातेकागज उद्योग, बुङ्गल नगरपालिका–१ को गोइचनमा रहेको जुनेली हातेकागज उद्योग, खप्तडछान्ना गाउँपालिका–५, कालुखेतीमा रहेको प्रगतिशील खप्तड हातेकागज उद्योग बन्द भएका छन् । यसबाहेक बुङ्गल नगरपालिका–७, गडरायमा रहेको गोर्खाली हातेकागज उद्योग, वडा नं. ३ दारुगाउँमा रहेको दारुगाउँ हातेकागज उद्योग, मष्टा गाउँपालिकामा रहेको हिमालयन हातेकागज उद्योग तथा तल्कोट गाउँपालिकाको दाँतोलामा रहेको बडीगाउँ हातेकागज उद्योग हाल बन्द छन् ।
उद्योग बन्द भएपछि भौतिक संरचना र उपकरण पनि बेवारिसे बनेका छन् । कतिपय उपकरण चोरी भएका छन् । खप्तडछान्ना गाउँपालिका–५, कालुखेतीमा रहेको प्रगतिशील खप्तड हातेकागज उद्योग १२ वर्षदेखि बन्द छ । २०६६ सालमा सञ्चालनमा आएको उद्योग बजार अभावका कारण बन्द हुन पुगेको सञ्चालक गोविन्द सिंहले बताउनुभयो । कच्चा पदार्थको मूल्यवृद्धिपछि उत्पादन लागत बढ्दा बजारमा प्रतिस्पर्धा गर्न नसकेर उद्योग बन्द हुन पुगेको उहाँको भनाइ छ ।
उद्योग सञ्चालन हुँदा कागज उत्पादनका लागि लोक्ता सङ्कलन, कागज ढुवानी, दाउरा बिक्री, मेसिन सञ्चालनलगायत कार्यमा ३० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । उद्योग बन्द भएपछि रोजगारी गुमेको छ । बुङ्गल नगरपालिका–१ मा रहेको जुनेली हातेकागज उद्योग ११ वर्षदेखि बन्द छ । बजारमा प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बन्द गर्नु परेको सञ्चालक अक्कल बोहोराको भनाइ छ । कच्चा पदार्थको अभाव, सङ्कलन तथा ढुवानीको महँगीले लागत वृद्धि भएपछि उचित बजार पाउन नसक्दा उद्योग बन्द गर्नु परेको उहाँले बताउनुभयो ।
प्रतिकृया दिनुहोस