काठमाडौं : कैलालीको टीकापुर साहित्य महोत्सवको पहिलो दिन वरिष्ठ साहित्यकारहरूले रचना बाचन गरी कार्यक्रमलाई उत्साहप्रद बनाएका छन। शुक्रवार बिहान उद्घाटन गरिएको साहित्य महोत्सवको अन्तिम सत्रमा साहित्यकारहरूले समाज रूपान्तरण गर्ने सन्देशमूलक जीवन्त रचना वाचन गरेका छन।
कविता वाचन गर्नेमा वरिष्ठ साहित्यकार सरुभक्त, साहित्यकारहरूमा देवकी तिमिल्सिना, श्रेष्ठप्रिया पत्थर, विमला तुम्खेवा, ज्योति जंगल, सुमिना, हेमन्त शिशिर, हेमन्ती जोशी, निभा शाह लगायतले कविता प्रस्तुत गरेका थिए।
नेपाली साहित्यमा जीवन्त सिर्जना गरी कविताको माध्यमबाट पाठकहरुलाई आकर्षित गरेका साहित्यकारहरुले आफ्नो रचनामार्फत समाजलाई सचेत गराउने र महिलामाथि हुने उत्पीडन, विभेद अन्त्यको सन्देश दिए। सिर्जनामार्फत समाजमा विद्यमान विकृति, विसंगति, पितृसतात्मक सोच शैलीको अन्त्यगरी समतामूलक समाज निर्माणको उदघोष उनीहरुले गरेका छन।
पहिलो दिनको अन्तिम सेसनमा वरिष्ठ साहित्यकार तथा देउडा गायक यज्ञराज उपाध्यायले देउडा गीतमा साहित्यकारहरुलाई नचाए। देउडा गाउँदै तालमा ताल मिलाएका साहित्यकारहरुले उपाध्यायको गीतमा छमछमी नाचेका थिए। भारतको सिलगुढी, नेपालको काठमाडौं, पोखरासहित देशको विभिन्न ठाउँबाट टीकापुर पुगेका ा साहित्यकारले देउडा गीत र नाचमा झुमेका थिए।
शुक्रवारदेखि सुरु भएको टीकापुर साहित्य महोत्सव आइतवार अपरान्हसम्म चल्नेछ। थारु साहित्य तथा सांस्कृतिक उत्सव नाम दिइएको महोत्सवको अन्तिम दिन आइतबार थारु साहित्य विशेष कार्यक्रम गर्ने आयोजकको भनाइ छ। टीकापुर साहित्य समाज र नेपाल प्रज्ञा प्रतिष्ठान सुदूरपश्चिमको संयुक्त आयोजनामा भइरहेको टीकापुर महोत्सवमा विभिन्न २७ वटा प्यानल डिस्कशनका सत्रहरु रहने महोत्सवका संयोजक महेशविक्रम शाहले बताए।
प्रतिकृया दिनुहोस